बजारमा सेयर किन्न चाहने लगानीकर्ता धेरै भए पनि बेच्न चाहने लगानीकर्ताको सङ्ख्या कम देखिएको छ । खासगरी मागअनुसारको सेयर नपाउँदा दोस्रो बजारमा अधिकांश कम्पनीको सेयरको मूल्य माथि लागेको छ ।
धेरै दिनदेखि ओरालो बाटोमा रहेको सेयर बजारमा सोमबार खरिदकर्ताको चाप बढेको छ । बजारमा सेयर किन्न चाहने लगानीकर्ता धेरै भए पनि बेच्न चाहने लगानीकर्ताको सङ्ख्या कम देखिएको छ । खासगरी मागअनुसारको सेयर नपाउँदा दोस्रो बजारमा अधिकांश कम्पनीको सेयरको मूल्य माथि लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट डेप्थ हेर्दा अधिकांश कम्पनीका सेयर किन्न चाहने लगानीकर्ताको चाप छ । किन्न चाहने लगानीकर्ताले मूल्य बढाएरै सेयर किन्न चाहे पनि लगानीकर्ताले सेयर बेच्न चाहेका छैनन् । योसँगै धेरै दिनदेखि घट्दै आएको नेप्से केही सुधारको क्रममा देखिएको छ ।
साथै, विगतमा बोनस सेयर नदिई नगद लाभांश मात्र घोषणा गर्ने कम्पनीको सेयर मूल्य घटाएर बेच्न चाहनेको भीड लाग्ने गथ्र्यो । तर, सेयर बजारमा आज नगद लाभांश घोषणा गर्ने कम्पनीको सेयरसमेत अभाव देखिएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
नेप्सेको मार्केट डेप्थमा हेर्दा त्यस कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताको सङ्ख्या ४ हजार २ सय ५५ रहे पनि कुनै पनि लगानीकर्ताले आफ्नो सेयर बेच्न चाहेका छैनन् । नेपाल बैङ्कको ४१ हजार ९ सय ५० कित्ता सेयर माग भए पनि १० हजार ६ सय २९ कित्ता सेयर मात्र उपलब्ध छ । यस्तै, एसियन लाइफ इन्स्योरेन्सको ५ हजार २ सय ९९ कित्ता सेयर माग हुँदा १ हजार ३ सय ९ कित्ता सेयर मात्र बिक्रीमा छ ।
यस्तै, अन्य अधिकांश कम्पनीको सेयर अभाव हुँदा नेप्से सुधारको बाटोमा देखिएको छ । गत सातादेखि घट्दै आएको नेप्सेमा आइतबार १३ अङ्कको गिरावट आएको थियो । यसअघि नेप्से घट्दा बजारमा किन्न चाहनेभन्दा बेच्नको सङ्ख्या धेरै हुन्थ्यो ।