अमूलका प्रबन्ध निर्देशक भन्छन्— हामी नेपालकै दूध प्रयोग गर्ने गरी नेपाल आउँछौं

भारतीय मिडिया मिररसँग कुरा गर्दै फेडरेसनका प्रबन्ध निर्देशक आरएस सोढीले अमूललाई नेपाल सरकारले नै बोलाएकाले अमूलले चाँडै नेपालमा उत्पादन थाल्ने बताएका छन् ।

भारतको गुजरात कोपरेटिभ मिल्क मार्केटिङ फेडरेसनअन्तर्गतको अमूल डेरीले नेपालमा आफ्नो डेरी स्थापना गरेपछि नेपालकै दूध प्रयोग गर्ने स्पष्ट पारेको छ ।

सहकारी मोडलमार्फत डेरी प्रडक्ट उत्पादन गरेर ख्याति कमाएको कम्पनीले नेपालमा आफ्नो कम्पनीले नेपालकै किसानको दूध प्रयोग गर्ने जनाएको हो ।

भारतीय मिडिया मिररसँग कुरा गर्दै फेडरेसनका प्रबन्ध निर्देशक आरएस सोढीले अमूललाई नेपाल सरकारले नै बोलाएकाले अमूलले चाँडै नेपालमा उत्पादन थाल्ने बताएका छन् । ‘हामीले स्थानीय दूध नै प्रयोग गर्ने गरेर उत्पादन गर्छाैं,’ उनले भनेका छन्, ‘यसले हाम्रो छिमेकी मुलुकमा पशुपालनमा आकर्षण बढाउने छ । हजारौं किसानलाई यसले सकारात्मक प्रभाव पार्ने उनले बताएका छन् ।’

नेपाल सरकारले आफूहरुसँग देशका आन्तरिक माग पूरा गर्ने उद्देश्यले गुजरात सहकारी मोडलमै नेपाल आउन आग्रह गरेको उनको भनाइ छ । साथै सरकारले स्थानीयवासीका लागि रोजगारको अवसर पनि पैदा गर्न इच्छुक छ । नेपाल सरकारको प्रस्ताव स्वीकार गरेर नै नेपालमा डेरी उद्योग स्थापना गर्ने अन्तिम तयारीमा रहेको उनले बताएका छन् ।

अमूलले नेपालसहित मध्यपूर्वमा पनि कम्पनी विस्तार गर्ने लागेको छ । अमूलले अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, चीन, जापान र नेपालमा भारतबाट निर्यात गर्दै आएको छ ।

अमूल नेपाली बजारमा पहिलादेखि नै स्थापित एवम् परिचित भएकाले उत्पादनपछिको बजार लिन झनै सजिलो हुने प्रबन्ध निर्देशक सोढीले बताएका छन् ।