रेमिट्यान्स कम्पनीको दसैं अफरः ‘निःशुल्क बससेवा’देखि २० लाख उपहार !

दसैंका लागि विदेशमा रहेका नेपालीले ठूलो मात्रामा विप्रेषण पठाउने भएकाले पनि विप्रेषण कम्पनीले दसैं विषेश अफर सार्वजनिक गर्ने गरेका हुन् । अन्य चाडपर्वमा भन्दा दसैंमा नेपालीले बढी खर्च गर्ने भएकाले पनि यो समयमा विप्रेषणको दर ह्वात्तै बढ्ने गरेको छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले ग्राहकलाई आकर्षित गर्न योजना सार्वजनिक गरेका हुन् ।

रेमिट्यान्स कम्पनीले दसैंका लागि आफ्ना ग्राहक लक्षित विषेश प्रकारका अफर सार्वजनिक गरेका छन् । विभिन्न कम्पनीले दसैंका लागि विषेश अफर घोषणा गरिरहेका बेला रेमिट्यान्स कम्पनीले पनि आकर्षक योजना सार्वजनिक गरेका हुन् । कम्पनीहरुले ‘निःशुल्क बससेवा’देखि २० लाख नगद उपहारसम्मको अफर सार्वजनिक गरेका छन् ।

दसैंका लागि विदेशमा रहेका नेपालीले ठूलो मात्रामा विप्रेषण पठाउने भएकाले पनि विप्रेषण कम्पनीले दसैं विषेश अफर सार्वजनिक गर्ने गरेका हुन् । अन्य चाडपर्वमा भन्दा दसैंमा नेपालीले बढी खर्च गर्ने भएकाले पनि यो समयमा विप्रेषणको दर ह्वात्तै बढ्ने गरेको छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले ग्राहकलाई आकर्षित गर्न योजना सार्वजनिक गरेका हुन् । देशमा विप्रेषणसम्बन्धी काम गर्दै आइरहेका कम्पनीले आफ्नै खालका विभिन्न आकर्षक अफर सार्वजनिक गर्दै आएका छन् । सबै प्रकारका कर्पोरेट कम्पनीलाई दसैंले छोएका बेला विप्रेषण कम्पनीलाई पनि दशैंको प्रभाव पर्ने नै भयो । त्यसैको परिणामस्वरुप दसैंमा नेपालीले विप्रेषण पठाएबापत् साना तथा ठूला पुरस्कार जित्ने मौका पाएका छन् ।

आइएमई रेमिट

आइएमई रेमिटले दसैं, तिहार र छठलाई लक्ष्य गर्दै आफ्ना सेवाग्राहीका लागि ‘दसैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । असोजको ६ गतेदेखि सुरु भई मङ्सिरको मसान्तसम्म चल्ने यस योजनामा स्वदेश तथा विदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । सेवाग्राहीलाई लक्ष्य गरी ल्याइएको योजना अवधिभर गरिएको ट्रान्जेक्सनबाट ‘लक्की ड्र’मार्फत् छनोट हुने विजेतालाई उपहार प्रदान गरिने छ ।
जसबाट हरेक दिन १० जना ‘आइएमई पे’मार्फत् एक हजारको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १० हजार नगद, हरेक महिना १ जनालाई एक लाख नगद तथा बम्पर उपहारमा १ जनालाई २० लाख नगद प्रदान गरिने उल्लेख छ । ‘लक्की ड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाईसमेत पुरस्कार प्रदान गरिने आईएमईले जनाएको छ । यसका लागि आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

यो योजनामा आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट सञ्चालक तथा आइएमईसम्बद्ध कुनै पनि व्यक्ति सहभागी हुन पाउने छैनन् ।

वेस्टर्न युनियन मनी ट्रान्सफर

वेस्टर्न युनियन मनी ट्रान्सफरले दसैं, दीपावली तथा छठको अवसरमा ‘खुसीको पर्व’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत विदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहारस्वरुप रकम नै पाइनेछ । यस योजनामा सहभागी हुनका लागि वेस्टर्न युनियनका मुख्य एजेन्ट अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमिट, माया रेमिट, नबिल बैङ्क, डीजीटेक रेमिट्यान्स, सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्टमार्फत् रकम प्राप्त गर्नु पर्नेछ ।

यस योजनामा ‘लक्की ड्र’मार्फत् हरेक दिन १ जना भाग्यशाली विजेताले १५ हजार जित्नेछन् भने योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहारस्वरुप ५ लाख रुपैयाँ जित्नेछन् । खुसीको पर्व योजना यही ७ असोजदेखि कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस

सिटी एक्सप्रेसले दसैं, तिहार र छठलाई लक्ष्य गर्दै ९० दिनसम्म चल्ने ‘लखपति एक्स्प्रेस’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत् उपभोक्ताहरुले दैनिक २ सयको मोबाइल टपअप १२ जनाले जित्न सक्नेछन् ।त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले १० हजार र हरेक महिना ‘लक्की ड्र’मा विजयी हुने एक जनालाई १ लाख रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरुसमेत बम्पर उपहारका लागि सहभागी हुनेछन् । ‘लखपति एक्स्प्रेस’ अफर असोज १ गतेदेखि मङ्सिर मसान्तसम्म लागू हुनेछ । यस उपहारको विजेता छनौट विद्युतीय प्रणालीद्वारा गरिनेछ भने योजनामार्फत् १ हजार १ सय २० जना उपभोक्ताहरु विजेता बन्नेछन् ।

यस्तै कम्पनीले दसैं लक्षित असोज १७ गतेदेखि २३ गतेसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीले सञ्चालन गर्ने बस सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने जनाइएको छ ।