प्रत्याभूतिकर्ताको आशङ्काले नेपाल बैङ्कको एफपीओ सूचीकरणमा ढिलाइ

बैङ्कले असार १५ गतेदेखि साउन १३ गतेसम्मका लागि १ करोड ७६ लाख कित्ता एफपीओ निष्कासन गरेको थियो । तर, कम्पनीको नबिकेको एफपीओ उठाएका मर्चेन्ट बैङ्कको बदमासीले गर्दा हालसम्म पनि सेयर सूचीकरण हुन सकेको छैन । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको थियो ।

प्रत्याभूतिकर्ताले सेयर बिक्रीमा बदमासी गरेको आशङ्काले नेपाल बैङ्कको थप प्राथमिक (एफपीओ) लामो समयसम्म सूचीकरणमा ढिलाइ भएको छ । सेयर निष्कासन भएको ३ महिना पुग्नै लाग्दा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको सेयर सूचीकरण हुन नसकेको हो । कम्पनीको नबिकेको सेयर प्रत्याभूति (अन्डरराइट) गरेका कम्पनीले सेयर बिक्री गर्दा बदमासी गरेको आशङ्काले गर्दा सेयर सूचीकरण हुन सकेको छैन ।

नबिकेको सेयर प्रत्याभूति गरेका ८ मर्चेन्ट बैङ्कहरुले एफपीओ सीधै लगानीकर्तालाई बेचेको आशङ्का नेपाल धितोपत्र बोर्डको छ । मर्चेन्ट बैङ्कले प्रत्याभूति गरेको सेयर आफ्नो नाममा लगेपछि मात्र लगानीकर्तालाई बेच्न पाउने नियममा उल्लेख छ । तर, बोर्डले पाएको सूचनाअनुसार अन्डराइटर मर्चेन्ट बैङ्कले सीधै लगानीकर्तालाई सेयर थमाइरहेका छन् । यही आशङ्कापछि धितोपत्र बोर्डले अन्डरराइटर कम्पनीहरुलाई पत्र काटेको थियो ।

बोर्डका अनुसार अन्डरराइटरले प्रतिकित्ता २ सय ८० रुपैयाँ पर्ने एफपीओलाई त्योभन्दा कम मूल्यमा सीधै लगानीकर्तालाई बिक्री गरेको सूचना आएपछि पत्र काटिएको हो । बोर्डले अन्डरराइटरलाई स्पष्टीकरण सोधेकाले एफपीओ समयमै सूचीकरण हुन नसकेको नेप्सेले जनाएको छ । बोर्ड र प्रत्याभूतिकर्ताबीचको आवश्यक प्रक्रिया पुरा भएपछि मात्र सेयर सूचीकरण हुने बताएको नेप्सेले आवश्यक प्रक्रिया सकिएलगत्तै सेयर सूचिकरणको काम अगाडि बढ्दै बताउँदै आएको छ ।

नेपाल बैङ्कका केन्द्रीय लेखा विभागका प्रमुख शिवराम मिश्रका अनुसार नेपाल बैङ्कले १ महिनाअघि नै नेप्सेमा सेयर सूचीकरणका लागि आवेदन दिएको थियो । तर, त्यसको लामो समय वितिसक्दा पनि नेप्सेले सेयर सूचीकरण गरेको छैन । उनले भने, ‘सेयर सूचीकरणमा भएको ढिलाइबारे बुझदा उनीहरु (नेप्से)ले आवश्यक प्रक्रिया अगाडी बढिरहेको भन्छन् ।’ सीडीएसले पनि आफ्नो काम पहिले नै सकि सकेको बताउँदै मिश्रले भने ‘तर, नेप्से १ महिनादेखि फाइल स्टडी भइरहेको छ भन्दै सूचीकरण गरेको छैन ।’ योबाहेक आफूहरुलाई केही पनि जानकारी नभएको उनको भनाइ छ ।

बैङ्कले असार १५ गतेदेखि साउन १३ गतेसम्मका लागि १ करोड ७६ लाख कित्ता एफपीओ निष्कासन गरेको थियो । तर, कम्पनीको नबिकेको एफपीओ उठाएका मर्चेन्ट बैङ्कको बदमासीले गर्दा हालसम्म पनि सेयर सूचीकरण हुन सकेको छैन । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको थियो ।

नेपाल बैङ्कले १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय ८० रुपैयाँ थप मूल्य (प्रिमियम) थपेर प्रतिकित्ता २ सय ८० रुपैयाँका दरले सर्वसाधारणमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ९३ लाख ७५ हजार ७ सय ५० कित्ता सेयरमा मात्र सर्वसाधारणबाट आवेदन परेको थियो । आवेदन परेअनुरुप साउन २० गते सेयर बाँडफाँट भएको थियो ।

त्यस अवसरमा सर्वसाधारणले खरिद नगरेको बाँकी सेयर प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकहरुले लिने पूर्व सहमतिअनुरुप खरिद गरेका थिए । कम्पनीको नबिकेको एफपीओ ग्लोबल आईएमई क्यापिटल, एनआईबीएल एस क्यापिटल, सिभिल क्यापिटल, सीबीआईएल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैङ्कले उठाएका थिए ।