इटलीबाट आउने भयो दुर्इ लाख स्याउका विरुवा

चालू आर्थिक वर्ष २०७५/०७६ मा इटालीबाट झन्डै १ लाख स्याउका विरुवा ल्याउने योजना बनाइए पनि विभिन्न जिल्लाबाट माग बढेकाले थप १ लाख गरी झन्डै २ लाखको हाराहारीमा स्याउका विरुवा ल्याउने योजना बनाइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

सरकारले एक लाख स्याउका विरुवा ल्याउने भनेपनि विभिन्न जिल्लाबाट माग बढेपछि दोब्बर सङ्ख्यामा स्याउका बिरुवा ल्याउने तयारी गरेको छ । वार्षिक रुपमा झन्डै ९ अर्बको स्याउ आयात भइरहेका बेला आयात प्रतिस्थापन गरी मुलुकलाई स्याउमा आत्मनिर्भर बनाउन थप एक लाख स्याउका विरुवा ल्याउनका लागि कार्यक्रम संशोधन गरी पेस गरिएको हो ।

चालू आर्थिक वर्ष २०७५/०७६ मा इटालीबाट झन्डै १ लाख स्याउका विरुवा ल्याउने योजना बनाइए पनि विभिन्न जिल्लाबाट माग बढेकाले थप १ लाख गरी झन्डै २ लाखको हाराहारीमा स्याउका विरुवा ल्याउने योजना बनाइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले चालू आवमा १० करोडको बजेटमा स्याउका विरुवा ल्याउने योजना भएपनि थप १ लाख विरुवा ल्याउनका लागि कार्यक्रम संशोधन गरी अर्थ मन्त्रालयमा पेस गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउको जोन र सुपरजोन क्षेत्रमा लगाइने स्याउका विरुवा आगामी पुससम्म ल्याइसकिने सुवेदीले बताए । ‘ग्लोबल टेन्डरका लागि नोटिस जारी गर्ने तयारीमा छौं,’ उनले भने, ‘आगामी पुसभित्र स्याउका विरुवा आउने अपेक्षा लिएका छौं । माघ/फागुनभित्र स्याउका विरुवा लगाइहाल्नु पर्छ ।’

यता, कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले पनि थप एक लाख विरुवा ल्याउनका लागि १० करोड बजेट थप गरिएको बताएका छन् । ‘खासगरी इटलीबाट ल्याइने स्याउका विरुवाको माग अत्याधिक पाएँ,’ उनले भने, ‘छिटो र बढी उत्पादन हुने विरुवा यहाँ नपाइने रैछ । त्यसकारण १० करोड बजेट थप गरी कुल २० करोड लरुपैयाँमा झन्डै १ लाख ८० हजार स्याउका विरुवा ल्याउने तयारी गरेका छौं ।’

एउटा स्याउको विरुवा १ हजार २ सयदेखि १ हजार ४ सयसम्म पर्ने भएकाले सस्तो र राम्रो उत्पादन दिने बिरुवा ल्याइने प्रवक्ता सुवेदीले बताए । यसअघि मनाङ्ग एग्रोले तिनै स्याउका विरुवा १ हजार ४ सय रुपैयाँ ल्याएको उनले बताए । स्याउका विरुवा ७० प्रतिशत अनुदान र ३० प्रतिशत किसानले भुक्तानी गर्नुपर्छ ।

खासगरी स्याउ उत्पादन हुने जोन र सुपरजोन तोकिएका मुस्ताङ र जुम्लासहित अन्य जिल्लामा पनि विरुवा वितरण गरिने सुवेदीको भनाइ छ । अन्य जिल्लाबाट पनि स्याउका विरुवाको माग आइरहेकाले आवश्यकताअनुसार विरुवा थपिने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।