सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा असोज ११ गते परिसूचक १० अङ्कले घट्दा ५७ करोडको कारोबार भएको थियो । तर, असोज २८ गते परिसूचक १४ अङ्कले बढ्दा पनि कारोबार २६ करोडमा सीमित भएको छ । यस बीचमा परिससूचक घट्दा कारोबार रकम बढी र परिसूचक बढ्दा कारोबार रकम खुम्चिँदै आधाले घटेको छ । खासगरी लगानीकर्तामा असोज महिनामा एक खालको त्रास देखिएको छ, जसले सेयर बजारको परिसूचकलाई र कारोबार रकमलाई...
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा असोज ११ गते परिसूचक १० अङ्कले घट्दा ५७ करोडको कारोबार भएको थियो । तर, असोज २८ गते परिसूचक १४ अङ्कले बढ्दा पनि कारोबार २६ करोडमा सीमित भएको छ । यस बीचमा परिससूचक घट्दा कारोबार रकम बढी र परिसूचक बढ्दा कारोबार रकम खुम्चिँदै आधाले घटेको छ । खासगरी लगानीकर्तामा असोज महिनामा एक खालको त्रास देखिएको छ, जसले सेयर बजारको परिसूचकलाई र कारोबार रकमलाई पूर्ण रुपमा प्रभावमा राखेको छ । सेयर बजारमा ब्याजदर र वाणिज्य बैङ्कको लाभांशले प्रभाव पारेपछि परिसूचक बढे पनि कारोबार खुम्चिनु तथा परिसूचक घट्दा कारोबार रकम आधा अर्ब रुपैयाँभन्दा माथि बढ्ने गरेको छ ।
गते नेप्से परिसूचक कारोबार
असोज ११ –१० ५७ करोड
असोज १४ –१० ५८ करोड
असोज २१ –१३ ४० करोड
असोज २४ ०.४ २२ करोड
असोज २५ ९.९५ २५ करोड
असोज २८ १४.१५ २६ करोड
एनएफआरएस लागू भएपछि वाणिज्य बैङ्कको लाभांश घोषणामा प्रक्रियागत ढिलाई तथा वाणिज्य बैङ्कको लाभांशको आशले सेयर बजारमा प्रभाव परेको छ । त्यसैले कुनै पनि वाणिज्य बैङ्कले दसैंअघि लगानीकर्तालाई लाभांशको स्वाद दिएका छैनन् । त्यसबाहेक सबै अन्य कम्पनीहरुले लाभांश घोषणा गरेका छन् जसले गर्दा नेप्से घट्दा कारोबार बढेको भए पनि त्यसपछिका दिनमा नेप्से सुधार हुँदा कारोबार रकम खुम्चिन गएको छ । ठूला कम्पनीको लाभांश घोषणा मिति नजिकिँदै गर्दा लगानीकर्तामा त्यसको आश झल्किन्छ । फलस्वरुप बजारमा सेयर बेच्न चाहनेको सङ्ख्या एकाएक घटेसँगै खरिदकर्ताको चाप बढेको छ ।
सम्पूर्ण सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुने तथा वाणिज्य बैङ्कको लाभांश वितरणको समय नजिकिएसँगै लगानीकर्ताले सेयर बेच्नभन्दा किन्नमा जोड गरेपछि खरिदकर्ताको चाप बढेको हो । आफूसँग भएको सेयर होल्ड गर्दै थप सेयर किन्न चाहनेको सङ्ख्या बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ ।
खासगरी, पछिल्लो समय सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । असोजदेखि घट्ने भनिएको ब्याजदर नघट्नु, तरलता अभाव तथा लगानीकर्ताले ऋण नपाउनुले सेयर बजारमा कारोबार रकम आधाले घटेको छ । यद्यपि गत साताको बिहीबार मात्र बैङ्कहरुबीच ब्याजदर घटाउने समझदारी भएको छ । यस्तै, दसैंको समयमा बैङ्किङ च्यानलबाट पैसा बाहिर जाने भएकाले पनि सेयर बजारमा त्यसको प्रभाव देखिन्छ । दसैंको समयमा बाहिरिएको पैसा फेरि बैङ्किङ च्यानलमा फर्किन समय लाग्ने गर्छ । यसले पनि अहिले बजारमा पैसाको अभाव देखिएको छ । बैङ्कहरुले यही बाहाना देखाउँदै लगानीकर्तालाई एकाएक ऋण दिन छाडेपछि लगानीकर्तासँग लगानीयोग्य रकमको अभाव भयो । यसले स्वभावतः सेयर बजारको कारोबार रकममा छुट्टै प्रभाव पार्यो ।
यही कारण नेप्सेमा पछिल्लो दुई साता नियमित जस्तो दुई अङ्कको गिरावट आएको थियो । परिसूचक घटेसँगै कारोबार रकममा पनि एक साताको अन्तरमा करिब आधाले कमी आयो । बैङ्करले बजारमा तरलताको अभाव देखाउँदै ब्याजदर बढाउने सङ्केत गरेपछि लगानीकर्तामा एक खालको त्रास बढेको थियो । तर, बैङ्कहरुबीच भएको समझदारीले फेरि परिसूचकमा सुधार आए पनि कारोबार रकम भने लयमा फर्केको छैन ।
यतिबेला आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास सकिएसँगै कम्पनीहरु वित्तीय विवरण सार्वजनिक गर्नका लागि आन्तरिक तयारीमा जुटिसकेका छन् । सुधारिएको वित्तीय विवरण आउने अपेक्षा कतिपय लगानीकर्ताको छ । बजारमा लगानी गर्दै आइरहेका लगानीकर्तालाई सूचीकृत कम्पनीको आउने वित्तीय विवरणको अवस्थाले झस्काएको छ । यसै कारण सेयर बेच्न चाहने लगानीकर्ताको सङ्ख्या किन्न चाहनेभन्दा कम छ ।
साथै, सेयर बजारमा अधिकांश हिस्सा ओगटेको वाणिज्य बैङ्कले हालसम्म पनि लाभांश घोषणा नगरेपछि लगानीकर्ता त्यसको पर्खाइमा सेयर होल्ड गरिरहेका छन् । ठूला कम्पनीले दिने लाभांशको दर पनि ठूलै हुने भएकाले लगानीकर्ता त्यसको आशमा रहेका हुन् । यसले गर्दा सेयर बजारमा एक्कासी सेयर बेच्न चाहनेको भन्दा किन्न चाहनेको सङ्ख्या बढेर गयो र मागअनुसारको सेयर उपलब्ध भएन । एकाएक सेयर अभाव भएपछि कारोबार रकम पनि स्वतः घट्ने नै भयो ।
अहिलेसम्म ५१ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने कुनै पनि वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छैनन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमा युनिलिभरले लगानीकर्तालाई ७ सय प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस्तै युनाइटेड फाइनान्सले र नेपाल सेवा लघुवित्तले समान ५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
यो बाहेक सूचीकृत कम्पनीले घोषणा गरेको लाभांश पाउने, ठूला कम्पनीले लाभांश घोषणा गर्ने र वितरण गर्ने मिति नजिकिएसँगै लगानीकर्ताले सेयर बेच्न भन्दा किन्नमा बढी जोड गरिरहेका हुन् । यस्तै सूचीकृत कम्पनीले असोज मसान्तमा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने भएपछि बजारमा परिसूचकसँगै कारोबार रकम ह्वात्तै घट्यो । बजारमा चलेको ब्याजदरको हल्लाले सेयर बजार केही हदसम्म प्रभावित भएको देखिन्छ ।
सुधारिएर १ हजार २ सय ८० अङ्कको बिन्दुमा पुगेको नेप्से त्यसपछि ओरालो लाग्दै १ हजार २ सय ४३ अङ्क कायम भएको छ । अघिल्लो साता लगातार घटेको बजार गत साता एकाएक सेयर अभाव भएपछि केही सुधारको सङ्केत देखिएको छ । पहिलो त्रैमासको अन्त्यसँगै ब्याजदर घट्ने सम्भावना बढेपछि साताको अन्तिम दिन बिहीबार नेप्सेमा १० अङ्कको सुधार आएको थियो । यस साताको आइतबार (हिजो) पनि नेप्से १४ अङ्कले बढेको छ ।
अधिकांश लगानीकर्ताले सेयर बेच्न नचाहेपछि कम्पनीको सेयर मूल्य माथि लागेपछि समग्रमा नेप्से परिसूचक बढेको हो । वाणिज्य बैङ्कको लाभांश घोषणा नहुँदा कति लाभांश दिने भन्ने अझै पनि नखुल्दा दोस्रो बजारको सेयर मूल्य बढाउनका लागि वाणिज्य बैङ्कले दिने लाभांशका बारेमा हल्ला पैदा भइरहेको छ । यसकारण लगानीकर्ताले पर्ख र हेरको रणनीति लिँदै आएका छन् । सोही कारण बजारमा अहिले सेयर बेच्न चाहने लगानीकर्ताले सेयर होल्ड गर्दै किन्न चाहिरहेका छन् ।
घट्दो बजारको मूल्यको फाइदा उठाउँदै खरिद गर्न यतिबेला अधिकांश लगानीकर्ता चाहन्छन् । तर, त्यसको ठिक उल्टो सेयर बजारमा बिक्रीकर्ताको अभाव देखिन्छ । त्यही कारण सेयर बजारमा मागअनुसारको सेयर उपलब्ध छैन ।