साझा यातायातले मङ्गलबारबाट बीवाईडी कम्पनीका दुइटा विद्युतीय बसमार्फत् सेवा सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले साझाले सुरु गरेको विद्युतीय बस सेवाको उद्घाटन गरे ।
नेपालमा पहिलो पटक विद्युतीय बस सेवा सुरु भएको छ । ललितपुर महानगरपालिकासँग समन्वय गरी साझा यातायातले मङ्गलबारबाट बीवाईडी कम्पनीका दुइटा विद्युतीय बसमार्फत् सेवा सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले साझाले सुरु गरेको विद्युतीय बस सेवाको उद्घाटन गरे ।
बससेवा उद्घाटन गर्दै प्रम ओलीले विद्युतीय सवारीसाधन वातावरणमैत्री भएकाले नेपालजस्तो मुलुकमा अति आवश्यक रहेको बताए । यसका निर्माताहरुले यसको मूल्य घटाउन सकेमा यी सवारीसाधनहरु भविष्यमा अझ बढी सञ्चालनमा आउने उनले दाबी गरे ।
वातावरण प्रदूषण कम गर्न भन्दै साझा यातायातले विद्युतीय बस सेवा सुरु गरेको जनाएको छ । सस्तो, सुलभ, भरपर्दो, जनप्रिय तथा विश्वसनीय यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसाथ सेवा सञ्चालन गर्दै आएको साझाले पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।
चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेको उक्त बसमा चालकसहित २० जना बस्न मिल्ने क्षमता छ भने उभिएर यात्रा गर्नेका लागि ह्याङगरलगायतका सुविधा छ । बसमा सीसी क्यामरा जडान गरिएको छ । सन् १९९५ मा स्थापना भएको बीवाईडी कम्पनी हङकङ स्टक एक्सचेञ्ज तथा सेन्जेन स्टक एक्सचेञ्जमा सूचीकृत छ । विश्वका ५० देशका दुई सय सहरमा बीवाईडीका बस, कार तथा ट्याक्सीहरु गुडिरहेका छन् । बीवाईडीले सोलार, ब्याट्री, मोबाइल, बस, कार उत्पादन गर्दै आइरहेको छ । नेपालमा बीवाईडीका बस तथा कारहरु सिमेक्स इन्कले भित्र्याएको हो । बीवार्इडीले सन् २०२० सम्म नेपालभरि ५० अाेटा चार्जिङ स्टेसन बनाउने घाेषणा गरेकाे छ ।
साझा यातायातले हाल ४६ ओटा बसद्वारा काठमाडौं उपत्यकामा सर्वसाधारणलाई यातायात सेवा दिइरहेको छ । जसमध्ये लगनखेल, लैनचौर, टिचिङ हस्पिटल, नयाँ बसपार्क, कलङ्की, स्वयम्भु, एअरपोर्ट, भक्तपुर र बनेपा मुख्य रुट हुन् । उपत्यका बाहिर गोर्खा र बाग्लुङमा पनि साझाले सेवा सुरु गरेको छ । त्यस्तै मुलुकका अन्य विभिन्न सहरी तथा ग्रामीण सडकहरुमा सेवा बिस्तार गर्ने योजना बनाएको छ ।