बलिउड अभिनेता शाहरुख खान, हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ वाईके कोले स्यान्ट्रो ह्याचब्याकलाई सार्वजनिक गरे ।
भारतीय बजारमा हुन्डाई स्यान्ट्रोको पुनः प्रवेश भएको छ । नयाँ दिल्लीमा मङ्गलबार एक भव्य कार्यक्रमबीच अल न्यू स्यान्ट्रोलाई सार्वजनिक गरिएको हो । बलिउड अभिनेता शाहरुख खान, हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ वाईके कोले स्यान्ट्रो ह्याचब्याकलाई सार्वजनिक गरे ।
स्यान्ट्रो कार सार्वजनिक हुनुअघि केही साता अघिदेखि नै बुकिङ खुला गरिएको थियो । सार्वजनिक गर्नुअघि नै सडकमा परीक्षणका लागि धेरै पटक कारलाई गुडाइसकिएको कम्पनीले जनाएको छ ।
सन् १९९८ मा भारतमा पहिलो पटक स्यान्ट्रो सार्वजनिक गरिएको थियो । २० वर्षपछि भारतमा स्यान्ट्रोलाई नयाँ अवतारमा उतारिएको हो । भारतमा २० वर्षको यात्रा पूरा गरेको स्यान्ट्रोको ब्रान्ड एम्बेसडरमा २० वर्षदेखि नै भारतीय अभिनेता शाहरुख खान छन् । नयाँ स्यान्ट्रो सार्वजनिक कार्यक्रममा बोल्दै शाहरुख खानले भारतमा यो कार फ्यामिली कारको रुपमा चर्चित बन्दै गएको बताए ।
नयाँ स्यान्ट्रो सात रङमा उपलब्ध छ । पाँच भेरियन्टमा उपलब्ध स्यान्ट्रोको मूल्य ३ लाख ८९ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय भारतीय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नयाँ स्यान्ट्रो आई १० मोडलको तुलनामा लामो छ । यसमा स्वचालित र मेन्युअल ट्रान्समिसनको विकल्प छ । यसमा १७.६४ सेमी टचस्क्रीन अडियो भिडियो सिस्टमसमेत छ । मल्टिमिडिया सिस्टम तथा स्मार्टफोन कनेक्टिभिटीको सुविधा पनि छ ।
नयाँ स्यान्ट्रोमा १ लाख किमीको वारेन्टी र तीन वर्षको सडक सहायताको सुविधा दिइएको छ ।