स्थानीय तहमा बजार छैन, बाहिर बिक्री गर्न ठेकेदार व्यापारीलाई दिनुपर्छ, उनीहरुले प्रतिकिलो रु ३० भन्दा बढी मूल्य दिन मान्दैनन् ।
तेजपातको उचित मूल्य नपाउँदा उदयपुर, गाईघाटका कृषक मारमा परेका छन् ।
जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । यो मूल्य पाँच वर्षअघिकै हो । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए । ‘सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुन्छ, तेजपातको मूल्य पाँच वर्षयता बढेकै छैन,’ उनले भने । व्यापारीले लामो समयदेखि तेजपातको मूल्य बढाउन नमान्दा कृषकलाई मार परेको हो ।
रौता नामन्तका राजकुमार मगर भन्छन्, ‘स्थानीय तहमा बजार छैन, बाहिर बिक्री गर्न ठेकेदार व्यापारीलाई दिनुपर्छ, उनीहरुले प्रतिकिलो रु ३० भन्दा बढी मूल्य दिन मान्दैनन् ।’ गएको वर्ष र यस वर्ष उही मूल्यमा तेजपात बिक्री गर्नुपरिरहेको उनको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घले कृषकको समस्याबारे ध्यान नदिँदा मर्कामा परेको कटारी–७ हर्देनीका शेषराज खत्री बताउँछन् ।
जिल्लाको मुर्कची, साउने, खाँबु, रौता, आँपटार, इनामे, डुम्रे र सल्ले तावाश्री क्षेत्रमा तेजपात उत्पादन हुन्छ । मयङ्खु, हर्देनी, सिरिसे, सोरुङ, रुपाटार, ओख्ले क्षेत्रका किसानले व्यावसायिक रुपमा तेजपात उत्पादन गर्दै आएका छन् । जिल्लाको राष्ट्रिय वनमा समेत तेजपात खेती सुरु गरेको सहायक वन अधिकृत लालबाबु यादवले बताए ।
अहिले निजी र सरकारी वनमा गरी झण्डै दस हजार हेक्टर क्षेत्रफलमा वार्षिक छ लाख किलो तेजपात उत्पादन हुँदै आएको छ । सदरमुकाम गाईघाट र कटारी बजारमा खरिद गरिएको तेजपात स्थानीय बजारमा प्रतिकिलो रु ७० देखि रु ८० तथा विराटनगर, वीरगञ्ज हुँदै अन्यत्र रु सयभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ ।