फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरेर मूल्यबृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेलमा एक रुपैयाँ, एलपिजी ग्याँसमा २५ रुपैयाँ मूल्यबृद्धि गरेको हो । स्वचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनको समेत मूल्यबृद्धि गरेको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर ५० डलर मूल्यबृद्धि भएको निगमले जनाएको हो । निर्वाचनपछि निगमले तीनपटक पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरिसकेको छ ।

पेट्रोल प्रतिलिटरको १०२ रुपैयाँ, डिजेल र मटितेल ७९ रुपैयाँ लिटर पुगेको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । ग्याँसकाे मूल्य प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकतर्फ लिटरको ९० रुपैयाँ र अन्तर्राष्टियतर्फ प्रति केएलको नौ सय डलर पुगेको निगमले जनाएको छ । मूल्य बढाउँदा पनि निगमलाई अझै पाक्षिक रुपमा १३ करोड २० लाख रुपैयाँ घाटा रहेको प्रवक्ता गोइतले बताए ।