अनलाइन प्रणाली कार्यान्वयनपछि यसरी गर्न सकिन्छ सेयर कारोबार

अनलाइन कारोबार प्रणालीबाट सेयर किनबेच गर्न लगानीकर्ता ब्रोकरकोमा गएर अनलाइन खाता खोल्नुपर्छ । त्यसमा बैङ्क खाता र डिम्याट खातालाई लिङ्क गराएपछि मात्र सेयर खरिदबिक्री गर्न सकिन्छ ।

सेयर बजार सुधार्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कात्तिक १५ देखि अनलाइन कारोबार प्रणाली सुरु गर्दै छ । यो प्रणाली सञ्चालन भएपछि लगानीकर्ताले जुनसुकै ठाउँबाट पनि सेयर खरिदबिक्री गर्न पाउनेछन् । तर त्यसका लागि लगानीकर्ताले मङ्सिर १ गतेसम्म कुर्नुपर्ने नेप्सेले बताइसकेको छ । त्यसअघि अनलाइनका माध्यमबाट कारोबार सेयर दलाल कम्पनीले गर्नेछ ।

नेपालको सेयर बजार इतिहासमा पहिलो पटक सञ्चालन हुन लागेको अनलाइन कारोबार प्रणालीबारे धेरैले सुने पनि सीमित लगानीकर्तालाई मात्र यससम्बन्धी जानकारी छ । अनलाइनबाट कारोबार गर्न पाउने भएपछि कारोबार कसरी गर्ने भन्ने सबै लगानीकर्तामा खुल्दुली भएको छ । तर नेप्सेले लगानीकर्ताको हितलाई ध्यानमा राखेर अनलाइन कारोबारलाई थप सहज बनाउने प्रयास गरिरहेको छ । त्यसका लागि नेप्सेले मोक टे«डिङ (पूर्वाभ्यास) सञ्चालनमा ल्याएको थियो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार मोक टे«डिङ प्रयोग गरेका लगानीकर्तालाई अनलाइन कारोबार गर्न समस्या हुनेछैन । तर जसले मोक टे«डिङबारे राम्रोसँग बुझेका छैनन्, उनीहरुलाई समस्या हुने उनको भनाइ छ । यसका लागि नेप्सेले मोक टे«डिङसम्बन्धी जानकारी तथा कारोबार गर्न सिकाएको भिडियो तयार गरेर आफ्नो वेबसाइटमा राखेको छ । यस्तै नेप्सेले कारोबार गर्न सहज गराउन ब्रोकर कम्पनीलाई अनलाइन कारोबारसम्बन्धी तालिम दिइरहेको छ ।

अहिले सेयर खरिदबिक्री आदेश (अर्डर) दिन सेयर दलालको कार्यालयमा पुग्नैपर्ने अथवा फोनबाट आदेश दिनुपर्छ । तर अनलाइन कारोबार प्रणाली सुरु भएपछि जुनसुकै स्थानमा बसेर पनि सेयर खरिदबिक्री गर्न सकिनेछ । अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले आफैं सेयर खरिदबिक्री गर्न पाए पनि अन्य काम ब्रोकरले नै गर्ने पराजुलीले बताए ।

कसरी गर्न सकिन्छ अनलाइनबाट कारोबार ?

अनलाइन कारोबार प्रणालीबाट सेयर किनबेच गर्न लगानीकर्ता ब्रोकरकोमा गएर अनलाइन खाता खोल्नुपर्छ । त्यसमा बैङ्क खाता र डिम्याट खातालाई लिङ्क गराएपछि मात्र सेयर खरिदबिक्री गर्न सकिन्छ । कारोबार गर्दा आवश्यक अन्य काम सबै सेयर दलाल कम्पनीले नै प्रक्रिया पूरा गराउनेछन् ।

लगानीकर्ताले कारोबार गर्न इन्टरनेट भएको स्थानमा बसेर आफूले चाहेको सेयर खरिद वा बिक्री गर्न डेस्कटप वा मोबाइलको माध्यमबाट आदेश दिन सक्छन् ।

तर, अनलाइनका माध्यमबाट सेयर किनबेच गर्न लगानीकर्ताको बैङ्क खातामा पैसा तथा डिम्याट खातामा अनिवार्य रुपमा सेयर जम्मा भएको हुनुपर्छ । सेयर किन्दा बैङ्क खातामा २५ प्रतिशत पैसा नभए स्वचालित प्रणालीले कारोबार गराउँदैन भने सेयर बेच्दा डिम्याट खातामा सेयर नभए कारोबार हुनेछैन । यस्तै दलालले कारोबार लिमिट दिएमा बैङ्क खातामा पैसा नभए पनि सेयर किनबेच हुन सक्ने बताइएको छ ।

यसरी हुन्छ अनलाइनबाट कारोबार

लगानीकर्ताले अनलाइनबाट सेयर खरिदबिक्री आदेश दिएपछि ब्रोकरका माध्यमबाट नेप्सेमा उक्त आदेश जान्छ । नेप्सेले अनलाइन प्रक्रियाबाट आएको आदेश तुरुन्तै कारोबार तथ्याङ्क सङ्कलनका लागि सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्याङ्क सङ्कलन गरेपछि पुनः लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेमा पठाउँछ । त्यसपछि नेप्सेले उक्त आदेश ब्रोकर कम्पनीलाई पठाउँछ ।

ब्रोकरले नेप्सेको आदेश पाइसकेपछि बैङ्कमा जम्मा हुनुपर्ने २५ प्रतिशत ब्यालेन्स तथा डिम्याटमा सेयर भए नभएको हेर्छ । खरिदकर्ताको बैङ्कमा ब्यालेन्स वा बेच्न चाहनेको डिम्याट खातामा सेयर भएको अवस्थामा ब्रोकरले बिक्रीको आदेश दिने लगानीकर्ताको अनलाइन खातामा आदेश पूरा भएको सूचना पठाउँछ । त्यसपछि खरिदकर्ताको आदेशअनुसारको सेयर डिम्याट खातामा जम्मा गरिदिन्छ ।