दुई महिनाभित्र पनि क्यापासिटर बैङ्क नराख्ने उद्योगलाई कारबाही गरिने

प्राधिकरणले गत वैशाखमा पूर्वका १ सय ४० ओटा उद्योगमा गरेको स्थलगत अवलोकनमा ४३ ओटा उद्योगले मात्रै क्यापासिटर बैङ्क राखेको फेला पारेको थियो । क्यापासिटर बैङ्क नहुँदा न्यून भोल्टेजका कारण उद्योगहरुमा बारम्बार लाइन ट्रिपिङ हुने गर्छ ।

नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयभित्र क्यापासिटर बैङ्क राख्न अटेरी गर्ने उद्योगलाई कारबाही गर्ने जनाएको छ । प्राधिकरणले तीन महिनाको समयसमिा तोकेर ठूला उद्योगलाई क्यापासिटर बैङ्क राख्न निर्देशन दिएपछि उद्योगहरुले भने अझै पनि क्यापासिटर बैङ्क राखेका छैनन् । लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि साना तथा ठूला उद्योगमा समयसमयमा लाइन ट्रिपिङ हुने गुनासो बढेसँगै प्राधिकरणले अनिवार्य रूपमा ठूला उद्योगलाई क्यापासिटर बैङ्क राख्न निर्देशक दिएको हो ।

तीन महिनाभित्र अनिवार्य रुपमा उद्योगहरुले क्यापासिटर बैङ्क राख्न समयसीमा दिएको र अटेरी गर्ने उद्योगलाई कारबाही तथा विद्युत् लाइन काट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । ‘तीन महिनाको समय दिएर क्यापासिटर राख्न भनेका छौँ । अहिलेसम्म १० प्रतिशत उद्योगले मात्रै क्यापासिटर बैङ्क राखेका छन्,’ उनले भने, ‘समयसीमाभित्र क्यापासिटर बैङ्क नराख्ने उद्योगलाई कारबाही गर्छांै ।’ प्राधिकरण विद्युत् वितरण विनियमावली २०६९ का अनुसार ५ हर्स पावरभन्दा बढ िक्षमता विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्य रुपमा क्यापासिटर बैङ्क राख्ने व्यवस्था छ । तर, विनियमावलीविपरति ठूला उद्योगहरुले अझै पनि क्यापासिटर बैङ्क नराखेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत वैशाखमा पूर्वका १ सय ४० ओटा उद्योगमा गरेको स्थलगत अवलोकनमा ४३ ओटा उद्योगले मात्रै क्यापासिटर बैङ्क राखेको फेला पारेको थियो । क्यापासिटर बैङ्क नहुँदा न्यून भोल्टेजका कारण उद्योगहरुमा बारम्बार लाइन ट्रिपिङ हुने गर्छ ।

यता, उद्योगमा क्यापासिटर बैङ्क राख्ने विषय सकारात्मक भए पनि लागत र समयका आधारमा निकै चुनौतीपूर्ण रहेको उद्योगीको भनाइ छ । ठूला उद्योगहरुले क्यापासिटर बैङ्क राख्ने विषयमा सबै उद्योगीहरुको आधिकारिक धारणा बनाएर अघि बढ्ने नेपाल उद्योग बाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘तोकिएकै समयमा क्यापासिटर बैङ्क राख्ने आधिकारिक धारणा बनाएर अघि बढ्छौं,’ उनले भने, ‘यस विषयमा सकारात्मक छौं । केही समय र लागत लाग्छ ।’ प्राधिकरणकै समयसीमामा नभए पनि केही समय थप गरेर उद्योगहरुले क्यापासिटर राख्ने पक्षमा रहेको उनको भनाइ छ ।

क्यापासिटर बैङ्क विदेशबाट ल्याउनुपर्ने हुँदा केही समय र लागत बढी लाग्ने भएकाले दुईतीन महिनाभित्रै राख्न नसकिने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बताए । केही उद्योगले क्यापासिटर बैङ्क राख्न प्रयत्न गरिरहेको र केही उद्योगले भने राखिसकेको उनको भनाइ छ ।

त्यस्तैगरी, पञ्चकन्या गु्रपका महानिर्देशक प्रदीपकुमार श्रेष्ठले प्राधिरकणले क्यापासिटर बैङ्क राख्ने विषयमा निजीक्षेत्रसँग उचित समन्वयन नगरेको आरोप लगाए । ‘तीन महिनाभित्र क्यापासिट बैङ्क राख्न उद्योगलाई प्राधिकरणलाई निर्देशन दिनुले निजीक्षेत्रका उद्योगसँग समन्वयन भएको देखिन्छ,’ उनले भने, ‘किनकि तीन महिनामै निकै छोटो समय हो । विदेशबाट मेसिन ल्याउन लागत र समय बढी लाग्छ ।’ प्राधिकरणको कदम सकारात्मक भए पनि निजी उद्योगीसँग समन्वय गर्नुपर्ने उनले बताए ।