प्रविधिमा फड्को, तीन महिनामै ३७ लाख स्मार्ट कार्ड आयात

राष्ट्रिय परिचयपत्रलगायत अन्य परिचयपत्र पनि स्मार्ट कार्ड बनाउने योजनामा सरकार छ । यातायात व्यवस्था विभागले पनि पाइपलाइनमा रहेका ६ लाख सेवाग्राहीलाई लाइसेन्स डेढ महिनाभित्र सबैको हातहातमा पुर्याउने योजन ल्याएको छ ।

पछिल्लो समय सबै क्षेत्रमा स्मार्ट कार्डको प्रयोग बढेसँगै आयात पनि आकासिएको छ । विशेषगरी बैङ्किङ क्षेत्रमा प्रयोगमा आउने स्मार्ट कार्ड अहिले सवारी चालक अनुमतिपत्र, नेपाली परिचयपत्र, आईडी कार्डलगायत जुनसुकै क्षेत्रमा पनि उपयोग हुँदै आएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको तीन महिनमा ३७ लाख ५४ हजार ६ सय २४ ओटा स्मार्ट कार्ड विभिन्न १० भन्दा बढी मुलुकबाट भित्रिएको छ । यी स्मार्ट कार्ड एक लाख ३३ हजार दुई सय ४९ रुपैयाँबराबरको रहेको विभागले जानकारी दिएको छ । भदौको तुलनामा असोजमा १० लाखभन्दा बढी कार्ड आयात भएको विभागका सूचना अधिकारी शिव भण्डारीले जनकारी दिए ।

अहिले नेपालमा १० देशबाट स्मार्ट कार्ड आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त स्मार्ट कार्ड भित्रिएका मुलुकमध्ये सबैभन्दा अगाडि चीन छ । चालू आर्थिक वर्षको तीन महिनासम्म चीनबाट १८ लाख ४८ हजार ४१ ओटा कार्ड नेपाल भित्रिएका छन् । यो कार्ड ४५ हजार सात सय रुपैयाँबराबरका हुन् । अघिल्लो महिना चीनबाट १० लाख ८० हजारभन्दा बढी कार्ड नेपाल आएका थिए ।

त्यसैगरी भारतबाट १६ लाख ५७ हजार तीन सय २८ ओटा स्मार्ट कार्ड नेपाल आयात भएको विभागले जनाएको छ । नेपालमा सिङ्गापुर, थाइल्यान्डबाट क्रमशः ६९ हजार र एक लाख ५० हजार ओटा स्मार्ट कार्ड भित्रिएका छन् ।

मेक्सिकोबाट २० हजार, पोल्यान्डबाट सय र कतारबाट १० हजार स्मार्ट कार्ड भित्रिएको विभागले जानकारी दिएको छ । त्यस्तै डेनमार्क, हङकङ, इटाली, जापान, मलेसिया, मेक्सिको, नेदरल्यान्ड, कतार, ताइबान, टर्की र अमेरिकाबाट स्मार्ट कार्ड आयात हुने गरेको छ ।

केही समयअघि नेपालमा मालिका इन्कर्पोरेट प्रालिले नेपालमा नै स्मार्ट कार्ड बनाउने र छाप्ने प्रविधि भित्र्याएको थियो । अहिले नेपाल सरकारले पनि सवारी अनुमतिपत्र लाइसेन्स छाप्ने जिम्मा मालिका कम्पनीले नै लिएको छ ।

राष्ट्रिय परिचयपत्रलगायत अन्य परिचयपत्र पनि स्मार्ट कार्ड बनाउने योजनामा सरकार छ । यातायात व्यवस्था विभागले पनि पाइपलाइनमा रहेका ६ लाख सेवाग्राहीलाई लाइसेन्स डेढ महिनाभित्र सबैको हातहातमा पुर्याउने योजन ल्याएको छ ।

हाल स्मार्ट कार्ड बैङ्किङ तथा कर्पोरेट क्षेत्रमा बढी प्रयोग हुँदै आएको विभागले जनाएको छ । स्कुल, कलेज, होटल तथा क्लबहरुमा प्रयोगमा आउन थालिसकेको छ ।