काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
आगामी माघ ४ गतेदेखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
ऊर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए । ऊर्जा क्षेत्रमा भएको विकास, ऊर्जा उत्पादन, लोडसेडिङ न्यूनीकरण तथा सरकारले अघि सारेको दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका विषयमा सरोकारवालासँग बृहत् रुपमा जानकारी दिन लागिएको मङ्गलबार पत्रकार सम्मेलनका अवसरमा आयोजकले जनाएको हो ।
एक्स्पोमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैङ्क, बिमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने छ । जसमा करिब आधा स्टल विदेशी रहनेछन् । गत वर्षको एक्स्पोमा सयभन्दा बढी स्टल थिए भने ५० हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका थिए ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै ग्रीड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्ने आयोजकले जनाएका छन् । एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत् हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराइने व्यवस्था गरिएको छ ।
एक्स्पोमा इन्जिनियरिङ सङ्कायका विद्यार्थीबीच विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्बन्धमा जानकारी दिइने छ ।