छठसम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने

मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री र उद्योग मन्त्रीको निर्देशन पछि छठ सम्म पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि नहुने बताए ।

छठ सम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्य बढेसँगै भारतमा पेट्रोलियम पदार्थको मुल्य बढेपनि नेपालमा भने छठ पर्व सम्म मूल्य नबढ्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले तत्कालको लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड तिहार र छठ सम्म कुनै पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्रालयलाई निर्देशन दिएको वताइएको छ ।

मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री र उद्योग मन्त्रीको निर्देशन पछि छठ सम्म पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि नहुने बताए । उनले नेपाल आयल निगमले छठ सम्म पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने बताउदै दैनिक रुपमा घाटा वेहोरेर भएपनि तिहार र छठ पछि मात्र मूल्य बढाउने तयारी गरेको जानकारी दिए ।

उनले हाल पेट्रोलियमा ८ रुपैया ५० पैसा, डिजेलमा ९ रुपैया ३२ पैसा र एलपिजी ग्यासमा प्रति सिलिण्डर ४०४ रुपैया ७३ पैसा घाटा रहेको बताए । मुल्य समायोजन हुन नसक्दा निगमलाई मासिक २ अरब ८ करोड घाटा हुदै आएको जनाएको छ ।

भारतीय सिमाबजार भन्दा पेट्रोलियमा २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैया २८ पैसा कम मुल्यमा विक्रि वितरण गरिरहेको निगमको भनाइ छ । हाल निगमले पेट्रोलियम पदार्थको खुद्रा मुल्य पेट्रोल प्रति लिटर ११४, डिजेल १०१,एल.पी ग्यास १ हजार ४ सय र मट्टितेल १०१ रुपैयामा तोकेको छ ।