सञ्चालनमा आयो डेढ अर्ब लगानीको मेट्रो ट्रान्सपोर्ट सर्भिस

एक अर्ब ५० करोड ७४ लाख रुपैयाँ लगानीमा सय ओटा डिलक्स तथा तीन सय ५० ओटा साधारण ट्याक्सी चल्ने क्रम सुरु भएको र अन्य १० ओटा डिलक्स कार तथा १० ओटा ठूला डिलक्स बस सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको मेट्रो ट्रान्सपोर्ट पब्लिक सर्भिस प्रालिका अध्यक्ष चेतेन्द्र पन्तले बताए ।

करिब ६ महिनाअघि उद्योग विभागमा दर्ता भएको मेट्रो ट्रान्सपोर्ट सर्भिस सञ्चालनमा आएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु भएको ट्रान्सपोर्ट सर्भिस उपत्यकाको यातायात क्षेत्रका समस्या तथा ट्याक्सीको बेथिति निर्मूल गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।

एक अर्ब ५० करोड ७४ लाख रुपैयाँ लगानीमा सय ओटा डिलक्स तथा तीन सय ५० ओटा साधारण ट्याक्सी चल्ने क्रम सुरु भएको र अन्य १० ओटा डिलक्स कार तथा १० ओटा ठूला डिलक्स बस सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको मेट्रो ट्रान्सपोर्ट पब्लिक सर्भिस प्रालिका अध्यक्ष चेतेन्द्र पन्तले बताए ।

अहिले उपत्यकामा ट्याक्सीको बेथिति बढेको छ । हरेक कुनामा उपभोक्ता ठगिनु परिरहेको छ । कुनै पनि ट्याक्सीले मिटरमा हिँड्न मान्दैनन् । यो समस्या समाधन गर्न कम्पनी खोलेको उनको तर्क छ । अध्यक्ष पन्तका अनुसार १० ओटा बस निर्माणको क्रममा छन् ।

कम्पनीको कुल लगानीमध्ये एक अर्ब ४५ करोड २३ लाख स्थिर पुँजी छ भने कार्यसञ्चालन पुँजी पाँच करोड ५१ लाख छ । पूर्णरुपमा सञ्चालन भएपछि ट्रान्सपोर्ट सेवामा पाँच सय चार जनाले रोजगारीको अवसर पाउने पन्तले क्यापिटल नेपाललाई जानकारी दिए ।

उपत्यकामा सञ्चालनका लागि केही ट्याक्सी आफ्नो कम्पनीसँग पहिले नै रहेकाले पनि अनलाइन ट्याक्सी चलाउन कुनै समस्या नभएको उनले बताए । पन्तले लामो समयसम्म अमेरिकामा अनलाइन ट्याक्सी चलाउँदै आएका थिए । त्यहाँको सिस्टम तथा प्रविधि अनुसरण गर्ने क्रममा उनले नेपालमा पनि यो सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको बताए । उपत्यकाका उपभोक्ता ट्याक्सीमा ठगिइरहेकाले अनलाइन सेवाले त्यस्तो प्रवृत्ति केही हदसम्म निराकरण हुने उनको विश्वास छ ।

उपत्यकामा अनलाइन ट्याक्सी प्रणालीको ज्ञान आम उपभोक्तामा छैन । मानिसहरु अहिले पनि बार्गेनिङकै भरमा चल्ने ट्याक्सी प्रयोग गर्न बाध्य छन् । नियमन निकायले ठगी गर्ने भनिरहेपनि ठगिइने क्रम रोकिएको छैन ।