नेपाली पुँजी बजारमा प्रविधिको एक महत्त्वपूर्ण फड्को मानिएको अनलाइन कारोबार प्रणाली सञ्चालनपछि लगानीकर्ताले इन्टरनेट भएको जुनसुकै स्थानबाट सेयर खरिदबिक्री गर्न पाउनेछन् । यस्तै प्रविधिको प्रयोगसँगै सेयर कारोबारमा सुरक्षाको चुनौती समेत थपिएका छन् ।
सेयर बजारमा बहुप्रतीक्षित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको अन्तिम चरणमा छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तिहार अघिदेखि नै अनलाइन कार्यान्वयनमा ल्याउन कसरत गरिहेको छ । नेपाली पुँजी बजारमा प्रविधिको एक महत्त्वपूर्ण फड्को मानिएको अनलाइन कारोबार प्रणाली सञ्चालनपछि लगानीकर्ताले इन्टरनेट भएको जुनसुकै स्थानबाट सेयर खरिदबिक्री गर्न पाउनेछन् । यस्तै प्रविधिको प्रयोगसँगै सेयर कारोबारमा सुरक्षाको चुनौती समेत थपिएका छन् ।
सेयर बजारमा अनलाइन कारोबार प्रणाली सञ्चालन भएपछि सेयर बजारले फड्को मार्ने सेयर विज्ञहरुले बताउँदै आएका छन् । यस्तै, पुँजी बजारमा आउने नयाँ प्रविधिले सम्पूर्ण पुँजी बजारलाई नै सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने करिब पक्का नै छ । यही अनलाइन प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले यसअघिको व्यवस्थाभन्दा सेयर बजारमा बिल्कुलै फरक महसुस गर्ने छन् ।
अनलाइन कारोबार प्रणाली सञ्चालनपछि लगानीकर्ताले ब्रोकर अफिसमा गई अनलाइन खाता खोलेर डिम्याट र बैङ्क खाता लिङ्क गराएपछि जुनसुकै स्थानमा बसेर पनि सेयर खरिदबिक्री आदेश जारी गर्न सक्छन् । यस्तै, लगानीकर्ता जहाँ बसेर पनि सेयर कारोबारमा प्रत्यक्ष रुपमा सहभागी हुन पाउनेछन् । यसअघि लगानीकर्ताले ब्रोकर अफिसमा स्वयम् गएर वा फोनबाट आदेश दिने गर्थे । अनलाइन कारोबार प्रणाली सञ्चालनपछि लगानीकर्ताले ब्रोकर अफिस धाइराख्नु पर्ने र फोनबाट खरिदबिक्री आदेश दिनुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।
अनलाइन प्रणालीको कार्यान्वयनपछि सेयर बजारको विस्तार नेपालभरि हुने छ । जसले गर्दा सबै नेपालीले चाहेको खण्डमा नेपाली सेयर बजारमा लगानी गर्न पाउनेछन् र पुँजी बजारको समग्र विस्तार हुने निश्चित प्रायः छ ।
विदेशमा रहेकालाई सुविधा
विभिन्न कारणले विदेशिएका नेपाली लगानीकर्ताले अब विदेशमै बसेर सेयर कारोबार गर्न पाउनेछन् । नेपालमा डिम्याट खाता खोलेर अनलाइन खातामा लिङ्क गराएपछि यो सुविधा लिन सकिने छ । यसो हुँदा विदेशी भूमिमा भएका लगानीकर्तालाई समेत नेपाली पुँजी बजारको नाफा घाटामा सहभागी हुने अवसर प्राप्त हुन्छ । जसको माध्यमबाट नेपाली सेयर बजारको विस्तारमा सहयोग पुग्छ ।
नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीले अनलाइन प्रणाली नेपाली पुँजी बजारको ऐतिहासिक क्षण भएको बताउँदै भने, ‘लगानीकर्ताले आफ्नै स्वविवेक प्रयोग गरेर सेयर खरिदबिक्री गर्न पाउनु सबैका लागि ठूलो फाइदा हो ।’ उनका अनुसार समयको बचतसँगै प्रविधिको उच्चतम प्रयोग अबका दिनमा नेपाली पुँजी बजारमा हुँदैछ भने नेपाली पुँजी बजार अन्तर्राष्ट्रियस्तरको बन्ने छ ।
तर, नेपाली सेयर बजारमा पहिलो पटक सञ्चालन हुन लागेको अनलाइन प्रणालीले सुरक्षाको चुनौती थपेको स्वयम् नेप्सेले बताएको छ । प्रविधिको उच्च प्रयोग हुने अनलाइन प्रणालीमा सेयर सुरक्षाको खतरा त्यति नै बढ्ने सम्भावना हुन्छ । खरिदबिक्री गरेको सेयर डिम्याट खातामा जाने वा नजाने सम्भावना ज्यादा रहने एक ब्रोकर कम्पनीका सञ्चालकले बताए । प्रविधिको खराबीले किनेको सेयर खातामा नआउने तथा बेचेको सेयरको पैसा नआउने सम्भावना रहने उनको तर्क थियो ।
यस्तै एक लगानीकर्ताका अनुसार पहिले सेयर कारोबार गर्दा खातामा पैसा नभए पनि सेयर खरिदबिक्री गर्न पाइने भए पनि अब खातामा पैसा नभई सेयर किन्न नपाइने बताए । यसमा नेपाली प्राविधिक विज्ञ नभएकाले आएका समस्या समाधान गर्दा धेरै नोक्सानीसमेत बेहोर्न पर्ने सम्भावना रहेको उनले बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रविधि भएकाले सामान्य समस्या आएपनि जटिल र ठूला प्रकृतिका समस्या नआउने बताए । पहिले नै परीक्षण भएर आएकाले यस्ता प्रकारका समस्या नआउने उनको भनाइ छ । तर, अनलाइन प्रणाली पहिलेको व्यवस्थाभन्दा थप महँगो भएको उनले बताए । यो प्रविधि भित्र्याउन २० करोड रुपैयाँले खर्च भएको पराजुलीले बताए ।