तिहारका लागि १२ सय ७० मेगावाट विद्युत् लोडको प्रक्षेपण

तिहारका लागि पिक–आवरमा आवश्यक पर्ने विद्युत् लोड व्यवस्थापन गरिसकेको जनाएको छ । तिहारका लागि वितरण प्रणाली सुधार, सबस्टेसन स्तरोन्नति, लोड व्यवस्थापन, ट्रान्समिसन लाइनको सुधार, पूर्वाधार निर्माण र आकस्मिक रुपमा आइपर्ने प्राविधिक समस्याका लागि नो लाइटका कर्मचारीलाई तुरुन्त कार्यस्थलमा खटाइने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले तिहार पर्वका बेला आवश्यक विद्युत् लोड १२ सय ७० मेगावाट आवश्यक पर्ने प्रक्षेपण गरेको छ । तिहार दीपहरुको पर्व भएकाले पनि हरेक घरमा झिलिमिली बत्तीका साथै अन्य रङ्गीन बत्तीको लोड उच्च हुने गर्छ । तिहारका लागि पिक–आवरमा आवश्यक पर्ने विद्युत् लोड व्यवस्थापन गरिसकेको जनाएको छ । तिहारका लागि वितरण प्रणाली सुधार, सबस्टेसन स्तरोन्नति, लोड व्यवस्थापन, ट्रान्समिसन लाइनको सुधार, पूर्वाधार निर्माण र आकस्मिक रुपमा आइपर्ने प्राविधिक समस्याका लागि नो लाइटका कर्मचारीलाई तुरुन्त कार्यस्थलमा खटाइने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष १ हजार १ सय मेगावाटभन्दा बढी विद्युत् खपत भएको थियो । अहिले भने गत वर्षको तुलनामा ५ प्रतिशत विद्युत् माग बढ्ने प्रक्षेपण गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘यस वर्षको तिहारमा १२ सय ५० देखि १३ सय मेगावाटसम्म विद्युत् लोड आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘पिक–आवरमा हुने विद्युत् मागअनुसार विद्युत् सप्लाई गर्न प्राधिकरणले सबै तयारी गरेको छ ।’ उनले गत वर्षभन्दा ५ प्रतिशत विद्युत् डिमान्ड बढी हुने अपेक्षा लिइएको बताए । विद्युत् वितरण प्रणालीसम्बन्धी सम्पूर्ण तयारी भइरहेको अधिकारीले बताए । खासगरी तिहार पर्वका लागि खपत हुने विद्युत् सप्लाई र व्यवस्थापनमा कुनै समस्या नहुने अधिकारीले बताए ।

प्राधिकरणले प्रक्षेपण गरेको १ हजार २ सय ७० मेगावाट विद्युत् लोडभन्दा पनि बढी पावर आवश्यक भएको खण्डमा पनि त्यसको व्यवस्थापन सहजरुपले गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तर्क छ । ‘तिहारका लागि १ हजार २ सय ७० मेगावाटभन्दा बढी १३ सयदेखि १५ सयसम्मको विद्युत् लोड आवश्यक भएको खण्डमा पनि त्यसको व्यवस्थापन प्राधिकरणले गरिरहेको छ,’ उनले भने, ‘तिहारका बेला अरुबेला जस्तो विद्युत् काटिने र ट्रिपिङ हुने समस्या हुँदैन । प्राधिकरणले सहज रुपमा त्यसको व्यवस्थापन गरिरहेको छ ।’

अहिले ड्राइ सिजनमा पनि कुलेखानी जलविद्युत् आयोजबाट १५ सय ६२ मिटर लेबलमा विद्युत् उत्पादन भइरहेकाले तिहारको माग धान्न सहयोग पुगेको घिसिङले बताए । तिहारकै दिन उच्च विद्युत् माग हुने भएकाले सबै वितरण प्रणाली, वितरण संस्था र केन्द्रलाई लोड व्यवस्थापनका लागि निर्देशन दिइसकिएको उनले बताए ।

अहिले भारतबाट ३ सय ७० मेगावाट विद्युत् आयात भइरहेको छ । भने निजी क्षेत्र र प्राधिकरणको लगानीमा एक हजार ७३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले भारतबाट आयात भएको विद्युत् ढल्केबर सवस्टेशनमा २ सय २० केभी क्षमतामा चार्ज भइरहेकाले स्वदेशमा विद्युत् मागअनुसार सप्लाई गर्न सकिएको छ ।