एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रहालयनजिक चार्जिङ स्टेसन निर्माण भइरहेको छ ।
आगामी तीन महिनाभित्र लुम्बिनीमा चार्जिङ स्टेसन निर्माण हुने भएको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रहालयनजिक चार्जिङ स्टेसन निर्माण भइरहेको छ ।
एडीबीमातहतको एसियन क्लिन इनर्जी र विकास कोषले निर्माण गर्ने उक्त चार्जिङ स्टेसनका लागि झन्डै १४ करोड रुपैयाँ लाग्ने छ । चार्जिङ स्टेसनलाई आवश्यक पर्ने पावरका लागि एक हजार ५० किलोवाट पावर उत्पादन हुनेगरी सोलार प्यानलसमेत राखिएको विकास कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए । उनले चार्जिङ स्टेसनका लागि २ मेगावाट विद्युत् आवश्यक पर्ने भएपनि सोलार प्लान्ट थप गरेर आवश्यक लोड पूर्ति गर्ने बताए । ‘चार्जिङ स्टेसन आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम सुरु गरेका छौं,’ उनले भने, ‘सँगसँगै चार्ज गर्नका लागि सोलार प्लान्ट पनि निर्माण गरेका छौं ।’
५ ओटा बस, ११ ओटा कार र स्टेसन बनाउन पर्यटन मन्त्रालयमार्फत् एडीबीले २७ करोड रूपैयाँ कोषलाई दिएको थियो । चार्जिङ स्टेसनबाट एउटा बस चार्ज गर्न ४५ मिनेट लाग्ने र चार्ज भएपछि ४ सय किलोमिटर गुड्छ । एडीबीको सहयोगमा ल्याइएका दुई इलेक्ट्रिक बस लुम्बिनीमा चार्जिङ स्टेसन नभएपछि साझा यातायातले काठमाडौंमा चलाइरहेको छ ।