दसैंको तुलनामा तिहारमा गाउँ जाने व्यक्ति थोरै भएपनि टिकट नपाएको उनीहरुको गुनासो छ । यातायात व्यवस्था विभागले दसैंमा काठमाडौंबाट बाहिरिनेका लागि टिकट तथा बस सहजीकरण गरे पनि तिहारमा भने कुनै पहल नगरेको पाइएको छ ।
तिहार मनाउन घर जान पुरानो बसपार्क टिकट काट्न आएका दोलखाका प्रशन्न काफ्ले टिकट नपाई फर्किन बाध्य भए । दुई दिनदेखि टिकटका लागि बसपार्क धाइरहे पनि काउन्टरका कर्मचारी भोलि भोलि भन्दै टारिरहेका छन् । उनका अनुसार टिकट काउन्टरका कर्मचारीले ‘भोलि दिउँसो आउनुस् बसको टिकट पाउनुहुन्छ’ भन्दै आश देखाए पनि दुख मात्र दिने गरेका छन् ।
काफ्ले मात्रै होइनन्, पुरानो तथा नयाँ बसपार्कबाट दैनिक सयाैं मानिस टिकट नपाई फर्किने गरेको बसपार्क वरीपरीका व्यापारी तथा यात्रुको भनाइ छ । दसैंको तुलनामा तिहारमा गाउँ जाने व्यक्ति थोरै भएपनि टिकट नपाएको उनीहरुको गुनासो छ । यातायात व्यवस्था विभागले दसैंमा काठमाडौंबाट बाहिरिनेका लागि टिकट तथा बस सहजीकरण गरे पनि तिहारमा भने कुनै पहल नगरेको पाइएको छ ।
विभिन्न यातायात कम्पनीले अनलाइनमार्फत् टिकट बुकिङ खुला गरेपनि यात्रुहरुले टिकट नपाएको गुनासो गरेका छन् । काउन्टरका एक व्यक्तिले भने, ‘दसैंमा यात्रुको चाप धेरै हुन्छ भनेर गाडी थपियो, तिहारमा थोरै हुने भएकाले बस ग्यारेजमा थन्काइयो ।’ अब पुनः बस थप्ने योजना बनाएको उनले भने ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले दसैंको तुलनामा तिहारमा काठमाडौंबाट बाहिरिने थोरै यात्रु हुने भएकाले कम मात्र बस चलेको बताउँछन् । यातायात कम्पनीहरुले बस अभाव भएको जानकारी गराए थप गाडी झिकाउन कुनै समस्या नहुने ढकालको भनाइ छ । ‘तिहारमा कमै मानिस बाहिरिन्छन्,’ उनले भने, ‘त्यसैलाई आधार मानी ट्राफिकलाई पनि सोही अनुरुप निर्देशन दिइसकेका छौं ।’
दसैंमा गत वर्षजस्तो यात्रु ठगिएको, बस नपाइएको जस्ता गुनासा कमै आएका छन् । तिहारमा पनि कुनै गुनासो आउन नदिने महानिर्देशक ढकालको प्रतिक्रिया छ ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले तिहारमा दैनिक पाँचदेखि छ हजार यात्रु बाहिरिने गरेको बताउँदै यात्रुको चाप धेरै नरहेको बताए ।
गाडीको चाप कम रहेकाले ट्राफिक समस्या नरहेको र टिकट काउन्टरमा ठगी भए तत्काल कारबाही गरिने जानकारी दिए । उनले बीच बाटोबाट यात्रा गर्नेका लागि समस्या भएको गुनासो आएकाले त्यसलाई समाधान गर्न टा«ाफिक प्रहरी प्रतिबद्ध रहेको पन्तको भनाइ छ ।
अहिले काठमाडौंको बसपार्कबाहेक कोटेश्वर तथा कलङ्कीबाट टाटा सुमो, माइक्रो, लगायतका सवारीसाधनबाट बढी भाडा तिरी तिहार मनाउन जानेको यात्रुहरुको लर्को छ । कोही कोही रिजर्भमा पनि जाने गरेका भेटिन्छन् ।