अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि प्रयोग भए पनि नेपालमा पहिलो पटक भित्रिएको अनलाइन कारोबार प्रणालीले लगानीकर्ता र ब्रोकरलाई अलमलमा पारिदिएको हो ।
अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि सेयर बजारमा कारोबार गर्दै आएका ब्रोकर कम्पनी र लगानीकर्तामा अन्यौलता छाएको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि प्रयोग भए पनि नेपालमा पहिलो पटक भित्रिएको अनलाइन कारोबार प्रणालीले लगानीकर्ता र ब्रोकरलाई अलमलमा पारिदिएको हो । फलस्वरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलेको तुलानामा कारोबार रकम आधाले घटेको छ ।
नेप्सेले नेपाली सेयर बजारको सुधारका लागि ल्याएको अनलाइन कारोबार प्रणालीबाट ब्रोकर कम्पनी र लगानीकर्ताले सेयर कारोबार गर्न नजान्दा कारोबार रकम घटेको बताउँदै एक ब्रोकर कम्पनीका सञ्चालकले भने, ‘लगानीकर्ताले मात्र नभई ब्रोकर कम्पनीलेसमेत कारोबार गर्न सकेका छैनन् ।’ उनले बताएअनुसार अधिकांश ब्रोकर कम्पनीले कारोबार गर्न जानेका छैनन् । नयाँ प्रविधि तथा आवश्यक तयारी कम हुँदा कारोबारमा झुक्किएको उनको तर्क छ ।
अनलाइन सेयर कारोबार सञ्चालनमा आएको पहिलो दिन नेप्सेमा तीन करोड रुपैयाँको मात्र कारोबार भएको थियो । यस्तै तिहारपछि कारोबार खुलेको नेप्सेमा अनलाइनमा समस्या आएपछि आइतबार ९ करोडको मात्र कारोबार भयो । यस्तै अनलाइन कारोबार प्रणाली सञ्चालनपछि समस्या आउँदा लगानीकर्ता रुष्ट भएका छन् ।
एक लगानीकर्ताका अनुसार नेप्सेले आवश्यक पूर्वाधार पूरा नगरी अनलाइन कारोबार प्रयोगमा ल्याउन हतार गर्दा यस्तो समस्या आएको हो । आवश्यक तयारी नगरी सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले नेपाली सेयर बजारको कारोबार रकमलाई चौपट बनाएको उनले बताए । उनले नेप्सेले अनलाइनमा आएको समस्या समाधान गरिसक्दा नेप्से धेरै अङ्कले घटिसक्ने बताए ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रविधि सञ्चालनमा ल्याउँदा सामान्य समस्या आउने बताए । तर, अनलाइन कारोबार सञ्चालन गर्दा बढी नै समस्या आएर असहज स्थिति पैदा भएको बताउँदै उनले भने, ‘अनलाइन कारोबार प्रणालीमा देखिएका समस्या आगामी दिनमा समाधान हुँदै जान्छन् ।’