अनलाइन प्रणालीलाई असफल बनाउने दुई/चार ब्रोकरको प्रयास

पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजार आफ्नो हातबाट फुत्किने हुँदा त्यस्ता ब्रोकर कम्पनीले नेप्सेलाई पूर्णरुपमा असहयोग गरेको लगानीकर्ताले बताएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीलाई असफल बनाउने खेलमा दुई÷चार ब्रोकर कम्पनी लागेको लगानीकर्ताले बताएका छन् । पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजार आफ्नो हातबाट फुत्किने हुँदा त्यस्ता ब्रोकर कम्पनीले नेप्सेलाई पूर्णरुपमा असहयोग गरेको लगानीकर्ताले बताएका हुन् ।

नेपाली सेयर बजारका लागि नेप्से जोडतोडले लागिरहे पनि सीमित ब्रोकर कम्पनीले भने असहयोग गरेको एक लगानीकर्ताले बताए । उनले अनलाइन कारोबारलाई असहयोग गर्ने ब्रोकर कम्पनीहरुको नाम भने सार्वजनिक गर्न नमिल्ने बताए । ब्रोकर कम्पनीहरुले पूर्वाभ्यासका लागि सञ्चालनमा ल्याइएको मक टे«डिङ नगर्नु, अनलाइन टे«डिङविरुद्ध आधारहीन समाचार फैलाउनु, नयाँ प्रणालीमा ढिला कनेक्नसन गर्नु तथा कनेक्सन नै नगर्नु, अर्डर कम लिनु वा खरिदबिक्री गर्न नमिल्ने बताउँदै अनलाइनलाई असफल पार्न खोजिरहेका छन् । पूर्वाभ्यासका लागि सञ्चालनमा ल्याइएको मक टे«डिङ सबै ब्रोकरले प्रयोग नगर्नु नै सबैभन्दा ठूलो असहयोग भएको उनको दाबी छ ।

नेप्सेले मक टे«डिङ ल्याउँदा सबै ब्रोकरले कारोबार गरेको भए अहिलेको समस्या आउने सम्भावना कम हुन्थ्यो । यस्तै, अनलाइन प्रणाली सञ्चालनमा ल्याउँदा ५०÷६० लाख खर्च लाग्ने भएकाले पनि केही ब्रोकर कम्पनी आन्तरिक रुपमा त्यसको विरोधमा लागिपरेका हुन् । अनलाइन प्रणाली सञ्चालनमा आएपछि कारोबार बढे पनि ब्रोकरले पाउँदै आएको कमिसन घट्नु तथा आन्तरिक रुपमा बजार प्रभावित बनाउन नसकिनु लगायतका कारण सीमित ब्रोकर कम्पनी अनलाइनको विरोधमा लागि परेका हुन् । यस्तै, कतिपय ब्रोकर कम्पनीले नेप्सेले दिएको हार्डवेयरमा भएका सामान्य समस्यालाई समेत ठूला समस्याका रुपमा व्याख्या गरेको लगानीकर्ताले बताएका छन् ।

विगतमा सम्पूर्ण सेयर बजारलाई आफ्नो कब्जामा राखेका ब्रोकर कम्पनी अनलाइन कारोबार प्रणालीसँग आत्तिएको बताएका अर्का लगानीकर्ताले भने, ‘सीमित तर बलिया ब्रोकर कम्पनी नै अनलाइन प्रणाली असफल बनाउने कोसिसमा लागेका छन् । तर, उनीहरुको उक्त प्रयास कुनै पनि हालतमा सफल हुँदैन ।’ यसअघिका दिनमा म्युचुअल फण्डलाई समेत आफ्नो प्रभावमा पार्दै सेयर बजारमा रजाईं गरेका दलाल कम्पनीले अनलाइन प्रणाली पूर्ण रुपमा लागू हुँदा घाटा हुने भएकाले नेप्सेलाई सहयोग नगरेको लगानीकर्ताहरुले बताएका हुन् ।

यस्तै नेप्सेका एक कर्मचारीका अनुसार विगतमा आधारहीन हल्ला फैलाएर सेयर कारोबार गर्न माहिर ब्रोकरले नेप्सेलाई सुरुदेखि नै सहयोग नगरेको बताए । उनले त्यस्ता कम्पनीले अनलाइन प्रणाली सञ्चालनमा आउनुभन्दा पहिले नेप्सेको आदेशसमेत नमानेको बताए । खराब आचरण भएका केही व्यक्तिले अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउँदा देखिएका तर सुधार गर्न मिल्ने समस्यालाई ठूलो इस्यु बनाएर हल्ला मच्चाएको नेप्सेको आरोप छ ।

उनीहरुले यसअघि कुनै कम्पनीको राम्रो सूचना पाएमा त्यस कम्पनीको सेयर खरिद गरेर लगानीकर्तालाई मारमा पार्दै आएका थिए भने नराम्रो सूचना वा सेयर घट्ने सूचना पाएमा लगानीकर्तालाई फसाँउदै आएका थिए । सेयर बजारभित्र बसेर एकपछि अर्को गरी लगानीकर्तालाई ठग्दै आएका ब्रोकर कम्पनीले बजार आफ्नो नियन्त्रण बाहिर जाने देखिएपछि नेप्सेलाई पहिलेदेखि नै असहयोग गर्दै आएका थिए ।

खासगरी सेयर बजारमा अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले आफ्नै स्वविवेक प्रयोग गरेर सेयर बजारमा लगानी गर्न पाउँछन् । यस्तो अवस्थामा लगानीकर्तालाई घट्दो क्रमको सेयर भिडाउन नपाउने भएपछि केही ब्रोकर कम्पनी आत्तिएको सेयर बजारमा लगानी गर्दै आएको एक लगानीकर्ताले बताए ।

उनका अनुसार यसअघि केही ब्रोकर कम्पनीले कुनै कम्पनीको राम्रो सूचना पाउनसाथ सम्पूर्ण सेयर खरिद गरी बजारमा उक्त कम्पनीको सेयर अभाव गराउँदै आएका थिए । तर, अनलाइन कारोबार पूर्ण रुपमा लागू भएपछि उनीहरुको हातबाट सेयर बजारको चलखेल बन्द हुने उनको भनाइ छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नयाँ प्रविधि प्रयोगमा आउँदा विभिन्न समस्या देखिनु स्वाभाविक भए पनि यसलाई ठूलो समस्याका रुपमा लिनु गलत भएको बताए । डिम्याट खाता सञ्चालनमा आउँदा पनि केही लगानीकर्ता तथा ब्रोकरले विरोध गरेका थिए । यस्तै अनलाइन कारोबार सञ्चालनमा आउन नदिन केही लगानीकर्ता तथा ब्रोकर पनि लागि परेको बताए ।

तर इन्भेष्टर्स फोरमकै अध्यक्ष अम्बिकाप्रसाद पौडेलले कुनै पनि व्यक्ति तथा संस्थाले अनलाइन कारोबारको विरोध नगरेको बताए । उनले अहिले सबैको एकमात्र चाहना नेपाली पुँजी बजारमा अनलाइन प्रणाली सञ्चालनमा आउनु रहेको बताए ।