नेपाली पुँजी बजारमा ‘अनलाइन प्रणाली’ले ल्याएकाे हलचल

अनलाइन सञ्चालनमा आएको तीन दिनमा नेप्से घटेर १ हजार २ सय अङ्कभन्दा तल झरेको छ भने कारोबार रकम पनि ह्वात्तै घटेको छ । अनलाइन प्रणाली सञ्चालनपछि लगानीकर्ताले गरेको अपेक्षाको ठीक विपरीत भएको हो ।

बहुप्रतीक्षित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि नेपाली पुँजी बजारमा एक खालको क्रान्ति आएको छ । पुँजी बजारलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीले पुँजी बजारमा हलचल मच्चाएको छ । अनलाइन सञ्चालनमा आएको तीन दिनमा नेप्से घटेर १ हजार २ सय अङ्कभन्दा तल झरेको छ भने कारोबार रकम पनि ह्वात्तै घटेको छ । अनलाइन प्रणाली सञ्चालनपछि लगानीकर्ताले गरेको अपेक्षाको ठीक विपरीत भएको हो । यसअघि लगानीकर्ताले अनलाइन कारोबार प्रणालीपछि बजारले एकाएक सुधारको बाटो लिने अपेक्षा गरेको थिए ।

अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको दिन नेप्से ३ अङ्कले बढे पनि ३ करोड रुपैयाँको मात्र कारोबार भयो । यस्तै तिहारपछि खुलेको बजारमा अनलाइन कारोबार भएको दोस्रो दिन नेप्से १६ अङ्कले घट्दै ९ करोडको कारोबार भयो । तेस्रो दिन सोमबार १३ अङ्कले ओरालो लागेको नेप्सेमा १३ करोडको कारोबार भयो । यसरी अनलाइन प्रणाली सञ्चालनपछि नेप्से ओरालो लागिरहे पनि कारोबार रकम भने सुधारिँदै गएको छ ।

अनलाइन कारोबार प्रणाली सञ्चालनमा आउनु अघिल्लो दिन नेप्से १० अङ्कले बढेको दिन २४ करोडको कारोबार भएको थियो भने परिसूचक १ हजार २ सय १८ अङ्क कायम थियो । त्यसयता लगातार घट्न लागेको नेप्से हिजो सोमबार १ हजार १ सय ९२ अङ्कमा कायम भएको छ ।

अधिकांश लगानीकर्ताले अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि सेयर बजारले ठूलो फड्को मार्ने बताएका थिए । तर, त्यसको ठीक उल्टो बजार तीव्र गतिमा ओरालो लागिरहेको छ । यही बीचमा कतिपय ब्रोकर कम्पनी अनलाइन कारोबार प्रणालीलाई असफल बनाउने खेलमा लागिपरेको पनि पाइएको छ । उनीहरुले बजार आफ्नो हातबाट फुत्किने डरले अनलाइनलाई केही समय ढिला कार्यान्वयनमा ल्याउने खेल खेलिरहेको नेप्सेले बताइसकेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नयाँ प्रविधि सञ्चालनमा ल्याउँदा केही समस्या आउने बताए । उनले यसअघि डिम्याट खाता सञ्चालनमा ल्याउँदा पनि बजारमा एक खालको हलचल आएको र अहिले पनि सोही प्रकृतिका घट्ना बाहिर आएको बताए ।

नेप्सेले अनलाइन सञ्चालनमा आएपछि बजार सकारात्मक हुने बताए पनि सुरु भएको तेस्रो दिनसम्म करिब ३० अङ्कले घटेर यस अवधिमा २५ करोड रुपैयाँको मात्र कारोबार भएको छ, जुन त्यसअघिका सामान्य दिनमा हुने कारोबार रकमको हिस्सा हो ।