खस्किँदै टेलिकमको मोबाइल इन्टरनेट सेवा, न्यूनतम मापदण्ड पूरा गर्नै धौधौ

प्रतिवेदनअनुसार वेबपेज खुल्न एनसेलमा ७ दशमलव ३६ सेकेन्ड, टेलिकममा १६ दशमलव ६९ सेकेन्ड र स्मार्टमा २० दशमलव ०९ सेकेन्ड लाग्ने गरेको छ । यसैगरी वेबपेज लोड हुने दरमा एनसेलको ९९ दशमलव १७ प्रतिशत, स्मार्टको ९८ दशमलव ८५ प्रतिशत र टेलिकमको ९८ दशमलव ८२ प्रतिशत छ ।

दूरसञ्चार प्राधिकरणले गत असोज ११ देखि २५ गतेसम्म नेपालका तीन ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनीको राजधानीका विभिन्न क्षेत्रमा अनुगमन गर्यो । प्राधिकरणको अध्ययनमा तीन सेवाप्रदायकमध्ये भ्वाइसकलमा टेलिकम अब्बल रहेको देखिए पनि मोबाइल इन्टरनेटमा भने खस्किएको पाइयो ।

राजधानीका करिब ४० भन्दा बढी स्थानमा गरिएको टेस्टड्राइभमा मोबाइल डाटाबाट वेबसाइट खोल्न एनसेल अगाडि देखिएको छ । एनसेलको नेटवर्कमा विभिन्न वेबसाइट टेलिकमको तुलनामा रूपमा छिटो लोड हुने (खुल्ने) देखिएको छ । यसमा अझैसम्म कुनै मापदण्ड नतोकिए पनि नेपाल टेलिकम र स्मार्ट कमजोर देखिएका छन् ।

प्रतिवेदनअनुसार वेबपेज खुल्न एनसेलमा ७ दशमलव ३६ सेकेन्ड, टेलिकममा १६ दशमलव ६९ सेकेन्ड र स्मार्टमा २० दशमलव ०९ सेकेन्ड लाग्ने गरेको छ । यसैगरी वेबपेज लोड हुने दरमा एनसेलको ९९ दशमलव १७ प्रतिशत, स्मार्टको ९८ दशमलव ८५ प्रतिशत र टेलिकमको ९८ दशमलव ८२ प्रतिशत छ ।

त्यसैगरी डाटाको स्पिडमा स्मार्ट अगाडि छ भने नेपाल टेलिकमको स्पिड सबैभन्दा कमजोर छ । मोबाइल इन्टरनेटमा फाइल डाउनलोड गर्दा हुनुपर्ने न्यूनतम स्पिड निर्धारण गरिएको छैन । तैपनि परीक्षणले भने स्मार्ट टेलिकमको फोरजी इन्टरनेट सबैभन्दा तीव्र रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार स्मार्टको डाटाको अधिकतम स्पिड ५७ दशमलव ८५ एमबीपीएस छ भने एनसेलको ३६ दशमलव २१ एमबीपीएस छ । तर, नेपाल टेलिकम भने सबैभन्दा कमजोर छ । जसको अधिकतम गति १७ दशमलव ६९ एमबीपीएस रहेको प्राधिकरणको भनाइ छ ।

परीक्षणमा समावेश तीनै सेवाप्रदायकको फोरजी इन्टरनेट सेवा काठमाडौंमा उपलब्ध छ । फाइल अपलोडमा भने डाउनलोडको तुलनामा तीनै सेवाप्रदायकको स्पिड कम छ । जसमा स्मार्टको १८ दशमलव ३१ एमबीपीएस, एनसेलको १४ दशमलव ३५ एमबीपीएस र टेलिकमको ५ दशमलव ६४ एमबीपीएस छ ।

डाउनलोड सफल हुनेमा स्मार्ट अघि छ । गुणस्तर परीक्षण प्रतिवेदनअनुसार स्मार्ट टेलिकमको नेटवर्कमा शतप्रतिशत फाइल डाउनलोड हुने गरेको देखिएको छ ।

दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले गुणस्तर तथा प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न सेवाप्रदायक कम्पनीहरुलाई निर्देशन दिइसकेका बताउँछन् । नेपाल टेलिकमको मोबाइल इन्टरनेटको गुणस्तर खस्किएको पाइएकाले यसलाई यथा शीध्र छिटो व्यवस्थित गर्न निर्देशन दिइसकेको उनको भनाइ छ ।

अहिले नेपाल टेलिकमका इन्टरनेट सेवाग्राही ६९ लाख ७३ हजार आठ सय ९९ पुगिसकेका छन् । टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले केही विषयलाई सुधार गर्नुपर्ने भएकाले टेलिकम यो समस्या समाधन गर्न जुट्ने जानकारी दिइन् । सबै स्थानमा यो समस्या नरहेको भन्दै उनले मापदण्डअनुसार गुणस्तर सुधार गरिने बताइन् ।

दूरसञ्चार प्राधिकरणद्वारा सार्वजनिक प्रतिवेदमा भने फाइल अपलोड, डाउनलोडलगायतका विषयमा टेलिकमको सेवामा गुणस्तर नभएको पुष्टि गरेको छ ।