सात मेगावाट विद्युत् जोड्दा ७० लाख घुस बुझाए उद्योगीले

आफ्नो उद्योगलाई चाहिने ७ मेगावाट विद्युत् केही समयअघि मात्रै प्राधिकरणबाट लिइसकेका छन् । उनले ७ मेगावाट विद्युत् लिएबापत् ७० लाख रुपैयाँ कर्मचारीलाई बुझाइसके ।

‘घुस बुझाउनु पर्छ, नेपाल विद्युत् प्राधिकरणले चाहिए जति विद्युत् दिन्छ, पैसा खुवाउन कन्जुस्याईं गरेपछि कहाँ पाइन्छ विद्युत् ?’ एक उद्योगीले क्यापिटल नेपालसँग भनेको भनाइ हो यो ।

उनले आफ्नो उद्योगलाई चाहिने ७ मेगावाट विद्युत् केही समयअघि मात्रै प्राधिकरणबाट लिइसकेका छन् । उनले ७ मेगावाट विद्युत् लिएबापत् ७० लाख रुपैयाँ कर्मचारीलाई बुझाइसके ।

‘उद्योग सञ्चालन गर्नुछ, पैसा खल्तीमा राखेर के गर्नु ?’ ती उद्योगीले हामीसँग भने, ‘आफूसँग भएको पैसा प्राधिकरणको खल्तीमा हाल्दिने, समयमै उद्योग चलाएर प्राधिकरणलाई बुझाएको पैसा उठाउने ।’ ती उद्योगीले खुलेरै भने, ‘मैले प्रतिमेगावाट १० लाख रुपैयाँ घुस दिएँ । मलाई ७ मेगावाट विद्युत् आवश्यक थियो, त्यो मैले पाइसकें ।’

प्राधिकरणमा प्रतिमेगावाट १० लाख रुपैयाँ घुसको रेट फिक्स भएको धेरै भएको अर्का एक उद्योगी बताउँछन् । ‘मैले पैसा बुझाउन सक्दिनँ,’ ती उद्योगीले भने, ‘त्यही भएर अहिलेसम्म मेरो उद्योगले बिजुली पाएको छैन, जसले पैसा बुझाए उनीहरुको उद्योगमा उहिल्यै विद्युत् जडान भइसकेको छ ।’

विभिन्न बाहना बनाई मिटर रिडिङ गर्ने र विद्युत् जोड्ने कर्मचारीले समेत घुस माग्दा प्राधिकरण बेखबर छ । नयाँ उद्योगलाई विद्युत् दिँदा प्राधिकरणका कर्मचारी घुस माग्ने गरेको आफूलाई थाहा नभएको प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । उनले घुस माग्ने जुनसुकै कर्मचारी भए पनि प्राधिकरणले कारबाही गर्ने बताए । ‘कुन केन्द्रमा कुन कर्मचारीले घुस मागे । प्राधिकरणमा जानकारी आउने बित्तिकै हामी तुरुन्त कारबाही गर्छौं,’ उनले भने ।

एकातिर विभिन्न बहानामा विद्युत् लोडको अभाव देखाएर उद्योगलाई चाहिने विद्युत् दिन हिच्किच्याउने, तर घुस बुझाए तुरुन्त विद्युत् जोडिदिने गरेको अर्का एक उद्योगीले बताए । ‘कुलमानको नेतृत्व हाईहाई गरे पनि प्राधिकरणभित्रका केही कर्मचारी भ्रष्ट छन्,’ ती उद्योगीले भने ।