कफीको मूल्य निर्धारण, ग्रेड ‘ए’ फ्रेस कफीको प्रतिकेजी ८५ रूपैयाँ

फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य ८५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ग्रेड ‘बी’ को प्रतिकेजी कफीको मूल्य ८० तोकिएको छ । दुवै कफी अर्गानिक प्रमापीकरण भएको हुनुपर्छ ।

सरकारले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कफीको मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस बर्ष भौगोलिक सुचक प्रणालीमा आधारित अध्ययनका आधारमा कफीको मूल्य निर्धारण गरेको हो । जसमध्ये फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य ८५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ग्रेड ‘बी’ को प्रतिकेजी कफीको मूल्य ८० तोकिएको छ । दुवै कफी अर्गानिक प्रमापीकरण भएको हुनुपर्छ ।

त्यस्तै, पार्चमेन्ट कफीतर्फ ग्रेड ‘ए’ कफीको प्रतिकेजी ४ सय २५ र ग्रेड ‘बी’ को प्रतिकेजी मुल्य ४ सय १० रुपैयाँ तोकिएको छ । ड्राइ चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी १ सय ४०, ग्रेड ‘बी’ कफी प्रतिकेजी १ सय र ग्रेड ‘सी’ प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ पछिल्लो तथ्यांकअनुसार देशभर कुल ५ सय १३ मेट्रिकटन कफी ग्रीन बिन उत्पादन भएको देखिन्छ ।

गत वर्षको तुलनामा यस बर्ष करिब १० प्रतिशतको वृद्धि हो । गत वर्ष ४६६ मे.टन कफी उत्पादन भएको थियो । विभिन्न जिल्लाहरूमा बोर्ड तथा तत्कालिन जिल्ला कृषि विकास कार्यालयहरू र गैरसरकारी संस्थाहरूबाट कफीको विस्तारका लागि सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र केही विस्तार हुँदा कफीको उत्पादन पनि बढेको हो ।

हाल कफीको कुल रोपण क्षेत्र २६५० हेक्टर पुगेको छ । विगत ४ वर्ष देखि कफी विस्तार कार्यक्रमले व्यापकता पाएकोले आगामी दिनहरुमा पनि कफीको उत्पादनमा थप वृद्धी हुने आँकलन गर्न सकिन्छ।

त्यस्तै, भन्सार विभागको तथ्यांकअनुसार ९ करोड ३७ लाख २५ हजार बराबरको ८४.२२ मे.टन कफी निर्यात हुँदा रू ६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ मे.टन कफी आयात भएको छ ।

गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको तथ्यांकले देखाउँछ । देशभर क्याफे हाउसहरुको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ ।