डिजाइन र माइलेजमा उत्कृष्ट होन्डा हर्नेट

मोटा पाङ्ग्रा, स्मार्ट लुक्स तथा स्टाइलले गर्दा पनि नेपाली बजारमा यसको हिस्सा उल्लेख्य रुपमा बढेको पाइन्छ ।

दुई वर्षअघि सार्वजनिक भएको होन्डा हर्नेट अहिले पनि युवा तथा सम्पूर्ण बाइक पारखीहरुको रोजाइमै छ । यो बाइक राजधानीका सडकदेखि गाउँका कच्ची रोडसम्म अब्बल बन्दै गएको छ । अहिले यो बाइक जतासुकैका युवाले चलाएर हिँडेको देख्न सकिन्छ । मोटा पाङ्ग्रा, स्मार्ट लुक्स तथा स्टाइलले गर्दा पनि नेपाली बजारमा यसको हिस्सा उल्लेख्य रुपमा बढेको पाइन्छ ।

विशेष गरी होन्डाका मोटरसाइकल तथा स्कुटर दैनिक ज्याला–मजदुरी गर्ने तथा सभ्रान्त परिवार सबैले चढ्न सक्ने क्षमताका छन् । होन्डाका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले भदौ पहिलो साता सीबी होन्डाका नयाँ मोडलसमेत सार्वजनिक गर्यो । उक्त बाइक पनि नेपाली युवाजमातमा लोकप्रिय नै छ ।

यो मोटरसाइकल युवादेखि प्रौढ सबैले सहज तरिकाले चलाउन सक्ने गरी निर्माण गरिएकाले यसलाई सोखको रुपमा भन्दा पनि आवश्यकताले नै सबैको रोजाइमा पर्ने गरेको बिक्रेताको भनाइ छ । एक सय ६० सीसी क्षमताको इन्जिन राखिएको सो बाइकमा आकर्षक लुक्स देखिन्छ । विशेषतः हर्नेटको इन्धन स्टोर गर्ने ट्याङ्कीको भाग बढी उठेकाले पनि यसको स्टाइल अन्य बाइकभन्दा फरक देखिएको हो । बाइकको रियरमा रहेको मोनोसक र मोटो पाङ्ग्रा यसका मुख्य लोकप्रिय विषेशता हुन् ।

राजधानीको अस्तव्यस्त सार्वजनिक यातायातबाट छुटकारा पाउन पहिलो विकल्पको रूपमा मोटरसाइकल स्थापित भएको छ । यसमा पनि होन्डाका मोटरसाइकल तथा स्कुटर बढी चल्ने गरेका देखिन्छन् । चारपाङ्ग्रे सवारीको तुलनामा यो सस्तो र छरितो हुन्छ । शक्तिशाली बडी र स्टाइलले यसको प्रयोग उल्लेख्य रुपमा बढ्दै गएको छ । ग्राहकको रोजाइमा तीव्र गति र उत्कृष्ट क्षमताका मोटरसाइकल पर्ने हुनाले होन्डाको पाँच गेयरयुक्त मोटरसाइकल धेरैको चाहना बनेका हुन् । यसको अधिकतम गति एक सय १५ किलोमिटर प्रतिघण्टा छ ।

यी मोटरसाइकल युवावर्गलाई विशेष ध्यानमा राख्दै बनाइएको कम्पनीले बताएको छ । माथिपट्टि फर्किएको सङ्केत बत्तीसहितको हेडलाइट निकै तेजिलो छ भने यसमा एक्स आकारको एलईडी लाइट राखिएको छ । होन्डाको लोगो भएको यसको ट्याङ्कमा कारबन प्याटर्न छ । यसको बाहिरी रुपलाई अझ सशक्त बनाउँदै यसमा पूर्ण डिजिटल मिटर डिस्प्ले पनि जडान गरिएको छ ।

यी मोटरसाइकलमा १४० एमएमको रियर टायर ५ स्पोक स्पिल्ट अलोइ ह्विलमा जडान गरिएको छ । होन्डा सीबी हर्नेट १६० आर आरामदायी छ । साँघुरो र अप्ठ्यारो सडकमा पनि मोटरसाइकल स्थिर रहन्छ । गियरले आरपीएम ब्यान्ड निरन्तर साथ दिनेछ । मोटरसाइकलमा एअरकुलर तथा चार स्ट्रोक सीआईबीएस–आईभी इन्जिन छ ।

यसमा भएको सिङ्गल सिलिन्डर इन्जिनले ८५०० आरपीएमम को पावरमा १५.६६ बीएचपी प्रदान गर्दछ र ६५०० आरपीएमको टर्कमा १४.७६ एनएम प्रदान गर्दछ । यो इन्जिनले १०ः१ को कम्प्रेसन रेसियोमा पावर उत्पादन गर्दछ । यसले प्रतिलिटर ६० किलोमिटरसम्म माइलेज दिन्छ । मोटरसाइकलमा काउन्टर ब्यालेन्सको पनि सुविधा उपलब्ध गराइएको कम्पनीले बताएको छ । पाँच ओटा रङमा उपलब्ध सो बाइकको अगाडि डिस्क ब्रेक छ । नेपाली बजारमा यसको मूल्य दुई लाख ७० हजार पर्छ ।