ट्राफिक व्यवस्थापन महाशाखाले पहिले पनि यस्ता योजना नल्याएको, नगरेको भने होइन । तर यस्ता नियम केही दिन लागू हुने र पछि पहिलाकै अवस्थामा देखिने गरेको छ ।
नेपालमा सार्वजनिक सवारीका लागि जतिसुकै नियम ल्याइए पनि कार्यान्वयन भने हुने गरेका छैनन् । महानगरीय ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवसायी र यातायात मजदुर सङ्घले हिजो शनिबारदेखि संयुक्तरुपमा सार्वजनिक सवारीका चालक तथा सहचालकका लागि ड्रेस, क्षमताभन्दा बढी यात्रु चढाउनेका लागि कारवाही तथा सवारी जफतसम्मको नियम लागू गर्यो । ट्राफिक व्यवस्थापन महाशाखाले पहिले पनि यस्ता योजना नल्याएको, नगरेको भने होइन । तर यस्ता नियम केही दिन लागू हुने र पछि पहिलाकै अवस्थामा देखिने गरेको छ ।
ट्राफिक महाशाखाले समय समयमा फरक फरक योजना तथा नियम ल्याउँदै आए पनि कार्यान्वयनको पक्ष एकदम फितलो छ । केही महिनाअघि महाशाखाले दुईपाङ्ग्रे तथा ठूला आवाज भएका बाइकलाई कारबाही तथा उपत्यकाका लागि पार्किङको कार्ययोजना बनायो । योजनामा उच्च ध्वनिप्रदूषण गर्ने मोटरसाइकल तथा पुराना स्कुटरले दुर्घटना निम्त्याएको र जथाभाबी पार्किङले सडक अस्तव्यस्त भएको भन्दै अप्रेसन समेत थाल्यो । अहिले त्यो कार्यको हालत पनि उस्तै छ । पार्किङस्थल तोकिए पनि अहिले राजधानीका चोक चोकमा जथाभाबी पार्किङ भइरहेको छ भने पुराना सवारीसाधनको अवस्थामा पनि कुनै सुधार आएको छैन । त्यस्तै मिटरमा नजाने ट्याक्सी पनि उपत्यकाको एउटा ठूलै समस्या हो । नियामक निकाएले उपभोक्ता ठग्ने ट्याक्सीलाई जफत गरिएको भने पनि अझैसम्म यो समस्याको हल भएको छैन । उपत्यकामा चल्ने कुनै पनि ट्याक्सी मिटरमा जानेगरेका छैनन् ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी बसन्त पन्तले उपत्यकाका सार्वजनिक सवारीसाधनमा थुप्रै बेथिती र समस्या रहेकाले यी समस्या क्रमिक रुपमा समाधान हुँदै जने बताउँछन् । उनले राजधानीका ट्याक्सीमा भएका बेथितीको समाधान खोजिरहेको बताए । ‘हामीले सकेजति गरिरहेका छौं,’ उनले भने, ‘शनिबारदेखि माइक्रो बसका चालक र सहचालकले पनि अनिवार्य रुपमा तोकिएको पोशाक लगाउनु पर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, ठूला आवाज भएका बाइकलाई रोक लगाउने जस्ता नियम लागू गरेका छौं ।’ यस्ता गतिविधिले अब निरन्तरता पाउने बताउँदै उनले सार्वजनिक यातायातको अवस्था सुध्रिने दाबी गरे । अब साना माइक्रो र टेम्पुले क्षमताभन्दा एक जना पनि बढी यात्रु राखे कारवाही गरिने उनले बताए ।
प्रहरीले माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको छ । तोकिएको ड्रेस नलगाए कारबाही गरिने र यातायात व्यवस्था ऐनमा भएको व्यवस्थाअनुसार पाँच सय रुपैयाँ जरिवाना तथा सवारी जफतसमेत गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी पन्तकले बताए ।
अहिले पनि ट्राफिक प्रहरीको आँखा छलेर विभिन्न रुटका सवारीसाधनले खचाखच यात्रु ओसारपसार गरिरहेका छन् । महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ निगरानी गरेको भए पनि सवारी चालकहरुले टेरेका छैनन् । नियमविपरीत यात्रु हाल्ने र नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गर्न ट्राफिक प्रहरी अहोरात्र खटिरहे पनि सार्वजनिक यातायातको अवस्था उस्तै छ ।