एक सय ४० विद्युत् महसुल केन्द्रमा अनलाइन बिलिङ सिस्टम

अनलाइन बिलिङ प्रणाली सञ्चालन भएका केन्द्रमा उपभोक्ताले आफ्नो घरमै बसेर अनलाइनमार्फत् विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पेमेन्ट अनलाइनमार्फत् गर्ने गरी सेवा विस्तार गरेको हो ।

मुलुकभरका एक सय ४० विद्युत् महसुल सङ्कलन केन्द्रमा अनलाइन बिलिङ सिस्टम लागू भएको छ । अनलाइन बिलिङ प्रणाली सञ्चालन भएका केन्द्रमा उपभोक्ताले आफ्नो घरमै बसेर अनलाइनमार्फत् विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पेमेन्ट अनलाइनमार्फत् गर्ने गरी सेवा विस्तार गरेको हो ।

अहिले एक सय ४० केन्द्रमा अनलाइन बिलिङ र एक सय ५५ ओटा विद्युत् महसुल केन्द्र तथा शाखा कम्प्युटारइज्ड प्रणालीमा गइसकेको नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कम्युटर बिलिङ तथा नेटवर्क महाशाखा प्रमुख सजुनकुमार श्रेष्ठले जानकारी दिए । उनले मङ्सिर महिनाभित्र एक सय ६० विद्युत् महसुल केन्द्र तथा शाखामा अनलाइन बिलिङ प्रणाली सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए । ‘विद्युतीय महसुल केन्द्रमा अनलाइनमार्फत् बिलिङ पेमेन्ट गर्ने सिस्टम तीव्र रुपमा विस्तार भइरहको छ,’ उनले भने, ‘यही मङ्सिर महिनाभित्र एक सय ६० ओटा विद्युत् महसुल केन्द्रमा अनलाइन पेमेन्ट सिस्टम लागू गर्ने लक्ष्य छ ।’

हाल मुलुकभर एक सय ७३ विद्युत् महसुल भुक्तानी केन्द्र छन् । प्राधिकरणले चालू आर्थिक वर्षभित्रै सबै शाखा तथा केन्द्रमा कम्प्युटराइज र अनलाइन पेमेन्ट सिस्टम पुर्याइसक्ने लक्ष्य लिएको छ । हाल इन्टरनेटको पहुँच नपुगेका दुर्गम पहाडी भेगमा प्रणाली विस्तार गर्न समस्या भइरहेको श्रेष्ठले बताए । हुम्ला, जुम्ला, रोल्पा, कर्णालीलगायत अन्य १६ ओटा शाखामा यो प्रणाली विस्तार हुन सकेको छैन । तर, त्यस्ता क्षेत्रमा डेढ वर्षभित्र सम्पूर्ण काम अनलाइन तथा कम्प्युटर प्रणालीमार्फत गर्नेगरी सेवा विस्तार हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले विद्युत् चुहावट हटाई सेवालाई भरपर्दो र पारदर्शी बनाउन हरेक ग्राहकका घरमा रिडिङ अनलाइन मिटर जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । आगामी ४ महिनाभित्र काठमाडौं उपत्यका क्षेत्र र मुख्य पकेट क्षेत्रहरुमा नयाँ प्रविधियुक्त रिडिङ अनलाइन मिटर जडान गर्न लागिएको श्रेष्ठले बताए । ३ देखि ४ सय रिडिङ अनलाइन मिटर खरिदका लागि टेन्डर स्वीकृत भइसकेको छ ।

अनलाइन मिटर जडान भएपछि विद्युत् चुहावट न्यूनीकरण हुने, ग्राहकले खपत गरेको युनिट र महसुल तत्काल सर्भरमा आउने र कर्मचारी दायित्व घट्ने प्राधिकरणले जनाएको छ ।