no-image

लगानीकर्तालाई बोनस सेयर दिएका एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य आइतबार बढेको छ । साढे १० प्रतिशत बोनस सेयर दिएको एनआईसीको सेयर मूल्य ३ प्रतिशत बढेको छ भने १५ प्रतिशत बोनस सेयर दिएको एनएमबीको मूल्य ६ प्रतिशतले बढेको छ । १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबीले लगानीकर्तालाई १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार २ सय ५० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।

सूचीकृत कम्पनीहरुले बोनस सेयर दिँदा सेयर मूल्य सामान्य हिसाबले टिक्ने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले बोनस सेयर दिँदा मूल्य सामान्य वृद्धि भएको र नगद लाभांश दिँदा मूल्य घटेको पाइएको छ ।

लगानीकर्तालाई बोनस सेयर दिएका एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य आइतबार बढेको छ । साढे १० प्रतिशत बोनस सेयर दिएको एनआईसीको सेयर मूल्य ३ प्रतिशत बढेको छ भने १५ प्रतिशत बोनस सेयर दिएको एनएमबीको मूल्य ६ प्रतिशतले बढेको छ । १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबीले लगानीकर्तालाई १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार २ सय ५० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।

यस्तै यी दुई कम्पनीको सेयर किन्न चाहने लगानीकर्ताको समेत चाप बढेको छ । बोनस सेयर दिने कम्पनीको सेयर बिक्री गर्न चाहनेको तुलनामा खरिद गर्न चाहने लगानीकर्ता बढी हुने गरेका छन् । आइतबार नेप्सेको मार्केटडेप्थका अनुसार एनआईसीको सेयर खरिद गर्न चाहने लगानीकर्ता बिक्री गर्न चाहनेकोभन्दा दोब्बर थियो ।

१७ प्रतिशत नगद लाभांश दिनुअघि स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको सेयर मूल्य करिब ९ सय रुपैयाँ थियो । कम्पनीले कात्तिक २५ गते आफ्ना लगानीकर्तालाई नगद लाभांश दिने निर्णय गरेपछि मङ्सिर २ गते सेयर मूल्य ६ सय १५ रुपैयाँ कायम भएको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य करिब ३ सय रुपैयाँ घटेको छ ।

त्यसअघि २६ प्रतिशत नगद लाभांश घोषणा गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एकै दिन प्रतिकित्ता ९७ रुपैयाँसम्म घटेको थियो । नगद लाभांश घोषणाअघि प्रतिकित्ता ९ सय ५६ रुपैयाँ रहेको सेयर मूल्य त्यसपछि ९ दशमलव ९४ प्रतिशतले मूल्य घट्दै ८ सय ७९ रुपैयाँमा आएको थियो ।

त्यसैगरी २५ प्रतिशत नगद लाभांश दिएको वोमी माइक्रोफाइनान्सको सेयर मूल्य निर्णय गरेकै दिन १० प्रतिशत घटेको थियो । कम्पनीले २५ प्रतिशत नगद लाभांश घोषणा गर्दै बोनस नदिएपछि उक्त लाभांश नलिने गरी आफूसँग भएको सेयर बेच्न चाहने लगानीकर्ताको चाप बढेको थियो । मूल्य घटाएर सेयर बेच्न चाहे पनि किन्न चाहने लगानीकर्ता थोरै मात्र थिए ।

अधिकांश कम्पनीले दिएको नगद लाभांश लगानीकर्ताले अस्वीकार गर्दै सेयर मूल्य घट्ने भएपछि मूल्य टिकाउनकै लागि बोनस सेयरको आवश्यकता पर्न थालेको हो । नगद लाभांश दिने कम्पनीको सेयर मूल्य एक्कासी घट्नुका साथै सेयर बेच्न चाहने लगानीकर्ता बढ्ने गर्छन् । तर, बोनस सेयर दिने प्रस्ताव गरेपछि कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिनुका साथै मूल्य बढ्ने गरेको छ ।

एकादुई कम्पनीबाहेक नगद लाभांश दिएका कम्पनीको सेयर मूल्य घट्ने गरेको छ । नगद लाभांश लगानीकर्ताले अस्वीकार गरेपछि चुक्ता पुँजी पुगिसकेका कतिपय कम्पनीले समेत मूल्य बढाउन बोनस सेयर दिएका छन् । आवश्यक चुक्ता पुँजी पुगी बोनस सेयर दिन नपर्ने कम्पनीले समेत दोस्रो बजारको सेयर मूल्य बढाउन वा सोही मूल्य कायम राख्नकै लागि बोनस सेयर दिनुपर्ने भएको हो । हाल बजारमा चुक्ता पुँजी पुगिसकेका कम्पनीको सङ्ख्या बढेकाले नगद लाभांशको दवाब धेरै छ ।

यसरी कम्पनीले सेयरधनीलाई नगद लाभांश दिएपछि लगानीकर्ता आफूसँग भएको सेयर बेच्न हतार गर्छन् । त्यसैगरी, बोनस सेयर दिने कम्पनीको सेयर किन्न चाहने लगानीकर्ताको सङ्ख्या तुलनात्मक रुपमा धेरै हुन्छ ।

तर, २१ प्रतिशत नगद लाभांश घोषणा गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्डमा भने लगानीकर्ता झुम्मिएका थिए । कम्पनीले बोनस सेयर नदिई नगद लाभांश मात्र दिँदा पनि कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताको चाप बढ्दा बिक्री गर्न चाहने लगानीकर्ता थिएनन् । अपवादबाहेक लगानीकर्तालाई नगद लाभांश दिने कम्पनीको सेयर मूल्य घटेपनि बोनस सेयर दिने कम्पनीको मूल्य बढेको देखिन्छ । नगद लाभांश नदिई बोनस सेयर दिने कम्पनीमा लगानीकर्ता झुम्मिँदै आएका छन् ।