भारतबाट तत्काल साढे २ सय मेगावाट विद्युत् ल्याउन सकिने

दुई सय २० केभी चार्ज भइरहेको ढल्केबर सबस्टेसनबाट तत्काल थप दुई सय मेगावाट र एक सय ३२ केभीए क्षमताको टनकपुर महेन्द्रनगर प्रसारण लाइनमार्फत् थप ५० मेगावाट गरी दुई सय ५० मेगावाट बिजुली जुनसुकै बेला पनि ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

भारतबाट तत्काल साढे दुई सय मेगावाट विद्युत् ल्याउन सकिने भएको छ । दुई सय २० केभी चार्ज भइरहेको ढल्केबर सबस्टेसनबाट तत्काल थप दुई सय मेगावाट र एक सय ३२ केभीए क्षमताको टनकपुर महेन्द्रनगर प्रसारण लाइनमार्फत् थप ५० मेगावाट गरी दुई सय ५० मेगावाट बिजुली जुनसुकै बेला पनि ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

उनले हिउँदको समय र बढी विद्युत् खपत हुने जुनसुकै पिक टाइममा पनि भारतबाट विद्युत् ल्याउन सकिने व्यवस्था रहेको बताए । ‘हिउँद र बढी मात्रामा विद्युत् आवश्यक परेको खण्डमा तत्काल भारतबाट दुई सय ५० मेगावाट विद्युत् ल्याउन सक्छौँ,’ उनले भने, ‘ढल्केबर र टनकपुर सबस्टेसन बनिसकेकाले भारतबाट क्रसबोर्डर ट्रान्समिसन लाइनमार्फत् उक्त सबस्टेसनमा विद्युत् चार्ज गर्न सकिन्छ ।’

दुवै प्रसारण लाइनमार्फत् ल्याइने विद्युत् ‘टेक अर पे’अन्तर्गत भुक्तानी गर्ने सम्झौता गरिएको अधिकारीले बताए । ढल्केबर—मुजफ्फरपुर प्रसारण लाइनमार्फत् भारतबाट एक सय २० मेगावाट विद्युत् आयात भएको छ । नेपालका अधिकांश रन अफ दि रिभर (नदी प्रवाहमा आधारित) प्रकृति खोलानदी भएकाले पनि त्यस्ता आयोजनाबाट उत्पादित विद्युत् हिउँदको समयमा ५० प्रतिशत घट्ने गर्छ ।

नेपालले टनकपुर सबस्टेसनबाट ३५ मेगावाट विद्युत् लिन सक्ने भए पनि लिएको छैन । अहिले प्राधिकरणका आयोेजनाबाट चार सय नौ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट तीन सय २७ मेगावाट र भारतबाट आयात गरिएको तीन सय ६५ मेगावाट लोड उत्पादन भई खपत भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको जानकारी अनुसार, हाल एक हजार एक सय मेगावाटकै हाराहारीमा विद्युत् लोड खपत भइरहेको छ ।

यसअघिको तिहारमा एक हजार एक सय पाँच मेगावाट विद्य्रुत् लोड खपत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तिहारका बेला झन्डै १३ सय मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरे पनि कम विद्युत् खपत भएको हो ।

पछिल्लो समय विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारीमा निजी कम्पनीहरु छन् । त्यस्तै उद्योगका लागि मागअनुसारको विद्युत् आपूर्ति गर्न पनि भारतबाट विद्युत् ल्याउन सकिने भएकाले त्यो प्रक्रियातर्फ प्राधिकरण अघि बढेको हो ।