तीन अाेटा प्रदेशका लागि १० हजार चिनियाँ गाई ल्याइँदै

स्थानीय सरकार र निजीक्षेत्रले भने यो कदमको विरोध गरेका छन् । गाई ल्याउनु महत्त्वपूर्ण नभई त्यस्का लागि आवश्यक पोषण, दाना र नश्ल सुधार नगरी हचुका भरमा गाई खरिद गर्ने कदम सकारात्मक नभएको कृषिविज्ञ डा. कृष्ण पौडेलले बताए ।

प्रदेश २, ३ र गण्डकी प्रदेशले सरकारले चीनबाट गाई ल्याउन डेढ महिनाभित्र समझदारी (एमओयू) गर्ने भएको छ । प्रदेश सरकारले दूध, माछामासु, अन्डा आदि कृषि उपजमा आत्मनिर्भर हुने नीतिअनुसार दूधको उत्पादन बढाई आत्मनिर्भर बन्न चीनबाट गाई ल्याउने योजना अघि सारेका हुन् ।

नेपालको कृषिक्षेत्रमा चिनियाँ लगानीकर्ताले लगानी गर्न चाहेकाले प्रदेश सरकारले पहिलो चरणमा दूधमा आत्मनिर्भर हुने नीतिअनुरुप गाई खरिद गर्नेबारे योजना बनाइएको गण्डकी प्रदेशका भूमि, कृषि तथा पशुपक्षी विकासमन्त्री लेखबहादुर थापाले बताए । ‘गण्डकी सरकारले केही कृषि उपजमा आत्मनिर्भर हुने नीति लिएको छ ।

यसअनुसार हाम्रो प्रदेशमा दूधको अत्यधिक माग भएकाले चिनियाँ लगानीकर्ता खोज्ने क्रममा गाई किन्ने योजना बनाएका हौं,’ उनले भने, ‘त्यसका लागि केन्द्रीय सरकार सकारात्मक छ । एक/डेढ महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाउँछौं ।’ तीन ओटै प्रदेशका लागि अनुमानित ८ देखि १० हजार ओटा गाई ल्याउने योजना रहेको मन्त्री थापाले जानकारी दिए ।

चाइनाको द साइन्स अफ टेक्नोलोजी कम्पनीले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने इच्छा देखाएअनुसार पहिलो चरणमा दूधमा आत्मनिर्भर बन्ने लक्ष्यअनुरुप गाई ल्याउने योजना बनाएको हो । तीन ओटै प्रदेश सरकारले गाई खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको मन्त्री थापाले बताए ।

यता, स्थानीय सरकार र निजीक्षेत्रले भने यो कदमको विरोध गरेका छन् । गाई ल्याउनु महत्त्वपूर्ण नभई त्यस्का लागि आवश्यक पोषण, दाना र नश्ल सुधार नगरी हचुका भरमा गाई खरिद गर्ने कदम सकारात्मक नभएको कृषिविज्ञ डा. कृष्ण पौडेलले बताए । ‘८/१० हजार गाई ल्याउने हो भने पाँच वर्षअघि घाँस लगाउनुपर्छ । दानापानीको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘तर, कुनै व्यवस्था नगरी ल्याउँदा प्रदेश सरकारलाई नै बोझ हुनेछ ।’

नेपाल जस्तो मौसम परिवर्तन हुने क्षेत्रमा विकासे जातका गाई आवश्यक नरहेको नेपाल राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारीले बताए । दूधमा आत्मनिर्भरको बाटोमा अघि बढिरहेका बेला प्रदेश सरकार कमिसनको लोभमा गाई खरिद गर्नेतर्फ अघि बढेको उनको आरोप छ । स्वदेशी गाईको संरक्षण नगरी र ल्याउने गाईहरुबारे कुनै पूर्वयोजना नबनाउँदा झनै समस्या थपिने उनको भनाइ छ ।