आइतबारबाट एयरपोर्टका सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा

निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङ भवनमा सारेको हो ।

एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको छ ।

निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङ भवनमा सारेको हो । ‘आइतबारबाट कुनै पनि सवारी साधन माथिल्लो भागमा पार्क गरिएका हुँदैनन्,’ विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘सम्पूर्ण पार्किङ पार्किङ भवनमा हुन्छ ।’

‘जथाभावी रुपमा गाडी पार्क गर्दा यात्रुलाई असाध्यै असुविधा भएको थियो । त्यही भएर हामीले पार्किङ भवनमा पार्क गर्ने निर्णग गरेका हौ,’ उनले भने ।

एयरपोर्टको माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० ओटा र कालो नम्बर प्लेट भएका १० ओटा मात्रै ट्याक्सी हुन्छन् । बाँकी सम्पूर्ण ट्याक्सी अहिले नयाँ बनेको भवनमा पार्किङ गरिएको हुने क्षेत्रीले जानकारी दिए ।

एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ । त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सी माथि उक्लिन्छ । त्यसो हुँदा ट्याक्सीबाट चल्दै आएको लुट पनि अन्त्य हुने क्षेत्रीको भनाइ छ । त्यसैगरी, निजी गाडीले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्छ । आफ्ना पाहुना विदेशबाट आएपछि पार्किङ गरिएको ठाउँबाट गाडी एयरपोर्ट आउने गर्छन् ।

अहिले निजी गाडी, हरियो नम्बर प्लेट र कालो नम्बर प्लेटका ट्याक्सीले एयरपोर्टको रुप नै बिगारिसकेका छन् । ती सवारीसाधनलाई पार्किङ गर्न बनाइएको भवनमा राख्नेबित्तिकै एयरपोर्ट सफा हुने क्षेत्रीको दाबी छ ।