राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत आयतलाई प्रतिस्थापन गर्न समयमै स्वदेशी आयोजनाको निर्माण कार्य पूरा गर्नुपर्ने बताइन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
जलविद्युत आयोजनाले मात्रै देश आर्थिक समृद्धितर्फ अघि बढ्ने भन्दै राष्ट्रपति भण्डारीले अहिले निर्माणाधीन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सबै पक्षले जोड दिनुपर्ने बताइन् । हिमालयन हाइड्रो एक्स्पोका अध्यक्ष शैलेन्द्र गुरागाइले भने ‘उर्जा खपतलाई कम गर्दै, वित्तीय व्यवस्थापन तथा स्रोत र साधनको सहि सदुपयोग गरी देशको आर्थिक विकासमा टेवा दिन सकिन्छ ।’
ऊर्जा क्षेत्रको विकासबाट मात्रै मुलुकको समग्र आर्थिक क्षेत्रको विकास हुने भएकाले नयाँ प्रविधिको अन्वेषण गर्न, लगानी बढाउन र नीतिगत रुपमा कमीकमजोरी रहेको भए त्यसलाई सुधार गरेर जानसमेत राष्ट्रपति भण्डारीले अनुरोध गरिन् ।
अपार जलस्रोतको सदुपयोग गर्नु हामी सबैको दायित्व रहेकामा जोड दिँदै राष्ट्रपति भण्डारीले भने, ‘ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर अगाडि बढाउनु पर्दछ । सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्दछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सन् २०३० सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऊर्जा क्षेत्रको विकास नै महत्वपूर्ण शर्त भएको बताए । व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम र विधि भनेकै ऊर्जा क्षेत्र भएकाले यसमा लगानी बढाउन, प्रविधिको खोजी गर्न निजी क्षेत्र लागिपर्ने उनको जोड थियो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले अब बन्ने सरकारले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै ऊर्जा क्षेत्रको विकासमा लागि पर्ने विश्वास व्यक्त गरे ।