जसले केबलकारको लहर ल्यायो

अहिले वार्षिक १० लाखभन्दा बढी यात्रु केवलकारमार्फत मनकामना दर्शन गर्ने गरेका छन् । यो केबलकार परियोजनाबाट राज्यले समेत ठूलो राजस्व पाइसकेको छ । सो क्षेत्रमा भ्रमण तथा मनकामनाको दर्शन गर्न कति गइसके भने कोही जाने क्रममा छन् ।

नेपालको पहिलो मनकामना केबलकारले दुई दशकको यात्रा पार गरेको छ । यसबीचमा मनकामना केबलकारबाट एक करोड ३९ लाख २५ हजार पाँच सय ५४ जना यात्रुले सेवा लिएका छन् ।

मनकामना केबलकार सञ्चालनमा आएपछि दोस्रो चन्द्रगिरी केबलकार सञ्चालनमा आएको थियो भने अब केही दिनभित्र देशकै तेस्रो कालिन्चोक केबलकार व्यावसायिक सञ्चालनमा आउने तयारीमा छ । मनकामना केबलकार २०५५ मङ्सिर ८ गतेबाट सञ्चालनमा आएको हो । उक्त केबलकार तत्कालीन युवराज दीपेन्द्र शाहले उद्घाटन गरेका थिए । केबलकार सञ्चालनमा आएको पहिलो वर्ष मनकामनामा ४० हजारभन्दा बढी यात्रुले यात्रा गरेका थिए ।

अहिले वार्षिक १० लाखभन्दा बढी यात्रु केवलकारमार्फत मनकामना दर्शन गर्ने गरेका छन् । यो केबलकार परियोजनाबाट राज्यले समेत ठूलो राजस्व पाइसकेको छ । सो क्षेत्रमा भ्रमण तथा मनकामनाको दर्शन गर्न कति गइसके भने कोही जाने क्रममा छन् ।

मनकामना केवलकारले दुई दशक यात्रा पूरा गर्नु आफूहरुका लागि गौरवको कुरा भएको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताए । ‘नेपालको पर्यटनमा यसले दिएको योगदानले पनि हामीलाई सन्तुष्ट दिएको छ,’ उनले भने ।
यात्रुको चाप बढेपछि गत कात्तिकमा तीन ओटा गोन्डला डब्बासमेत थपियो । केबलकारमा तीन ओटा डब्बा थपसँगै ३४ ओटा डब्बाबाट यात्रुलाई सेवा दिने कम्पनीले जनाएको छ । थपिएको डब्बाबाट दैनिक थप १ हजार यात्रुलाई ओसारपसार गर्न सकिने पनि कम्पनीले जनाएको छ । केबलकार तथा मनकामना क्षेत्रका होटल, रेष्टुरेन्टमा मानिसको चाप खचाखच छन् ।

मनकामना केबलकार सञ्चालनमा आएपछि ठाउँठाउँमा केबलकार सञ्चालनमा आउने तयारी थालिसकेका छन् भने केही स्थानमा डीपीआर तयार हुँदै छन् । पोखरामा अन्नपूर्ण केबलकारको काम पनि धमाधम अगाडि बढेको छ । त्यस्तै आईएमई गु्रपअन्तर्गतको मौलाकालिका मन्दिर, पोखरादेखि मुस्ताङ, प्युठानको स्वर्गद्वारी, बन्दिपुर, बागलुङबजारदेखि पञ्चकोटलगायत ठाउँमा केबलकार अध्ययन तथा डीपीआर तयार हुन थालिसकेका छन् । त्यस्तै अन्य केबलकार उपयुक्त ठाउँमा सम्भाव्यता अध्ययनसमेत थालिसकिएको छ ।