सेयर बाँडफाँट भएको चार महिना बितिसक्दा पनि खाता नम्बर नमिलेको, केवाईसी अपडेट नभएको बहाना बनाउँदै १० प्रतिशत लगानीकर्ताको पैसा फिर्ता दिएको छैन ।
काठमाडाैं । दोलखावासीका लागि खुलाइएको माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको महिना दिन बितिसक्दा पनि पैसा फिर्ता दिन आलटाल भइरहेको छ । सह बिक्री प्रबन्धक सनराइज क्यापिटलले विभिन्न बहाना पार्दै पैसा फिर्ता दिन आलटाल गरिरहेको हो । सेयर बाँडफाँट भएको चार महिना बितिसक्दा पनि खाता नम्बर नमिलेको, केवाईसी अपडेट नभएको बहाना बनाउँदै १० प्रतिशत लगानीकर्ताको पैसा फिर्ता दिएको छैन ।
साउन १५ गतेदेखि भदौ २१ गतेसम्मका लागि आवेदन खुलाइएको आईपीओ करिब चार महिनापछि बाँडफाट भएको थियो । तर, सह बिक्री प्रबन्धक क्यापिटलले बहानाबाजी गर्दै हालसम्म पनि पैसा फिर्ता दिएको छैन । जसको प्रत्यक्ष प्रभाव सेयर भर्न ऋण खोज्नेहरुलाई परेको छ । प्रतिमहिना १६ प्रतिशत ब्याज तिर्ने प्रतिबद्धतासहित ऋण लिनेहरुले लगातार चार महिनादेखि ब्याज बुझाउँदै आएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी निर्देशक विजयलाल श्रेष्ठले बताएअनुसार ९० प्रतिशत लगानीकर्ताको पैसा फिर्ता पठाइसकिएको छ, तर १० प्रतिशत लगानीकर्ताको खातामा प्राविधिक कारणले पैसा जान सकेको छैन । उनले सम्बन्धित लगानीकर्ताको बैङ्क खाता नम्बर नमिल्नु, केवाईसी अपडेट नहुनु जस्ता कारणले पैसा जान नसकेको बताए ।
नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरीले पैसा यति नै समयमा फिर्ता भइसक्नुपर्ने कानुन नभएको बताए । उनले बाँडफाँट भएको ५ दिनभित्र पैसा फिर्ता गर्न सुरु गरिसक्नुपर्ने बताउँदै भने, ‘कहिलेकाहीँ प्राविधिक समस्या हुनु सामान्य हो ।’