मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएका बेला अदुवा प्रशोधन गरेर उनले मनग्य फाइदा लिइरहेका छन् ।
भोजपुर हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाका विभिन्नथरिका अचार बनाई लाखौँ रपैयाँ आम्दानी गरेका छन् । मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएका बेला अदुवा प्रशोधन गरेर उनले मनग्य फाइदा लिइरहेका छन् ।
सामान्य तालिम लिएर २०६६ सालमा ‘मीना विथ ज्योति उद्योग’ दर्ता गरी अदुवा प्रशोधन थालेका राईले गाउँका थुप्रैलाई रोजगार पनि दिएका छन् । राईको प्रशोधन केन्द्रमा मासिक दुई क्विन्टल जति अदुवा खपत हुने गर्छ । ‘अहिले प्रशोधन केन्द्रमा दुई क्विन्टल अदुवा छ, यो सबै गाउँघरबाटै बटुलेको हुँ’, उनले भने । अदुवा प्रशोधन गरी उनले क्यान्डी, पाउडर, सुठो र अचार बनाउने गर्छन् ।
वार्षिक पाँच लाख रुपैयाँको कारोबार गरी करिब दुई लाख रुपैयाँ नाफा गर्ने राई भन्छन्, ‘व्यावसायिक रुपले खेती गर्ने ठूला किसानले विषादीको प्रयोग गर्छन्, त्यही भएर गाउँघरमा उत्पादन भएको अदुवा किन्छु ।’ उनलाई उन्नति परियोजनाले उत्पादन तथा बजारीकरण गर्न १३ लाख १२ हजार रुपैयाँ सहयोग गरेको छ ।