ग्यास बिक्रेता महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

ग्यास बिक्रेता महासङ्घद्वारा ग्यास कारोबारलाई व्यवस्थित एवम् आत्मनिर्भर बनाउन सरकारले कार्यविधि एवम् नीतिनियम बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

ग्यास बिक्रेता महासङ्घ नेपालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समस्या एवम् मागबारे ध्यानाकर्षण गराएका छन् । उक्त अवसरमा उद्योगीले ग्यास कारोबारलाई व्यवस्थित एवम् आत्मनिर्भर बनाउन सरकारले कार्यविधि एवम् नीतिनियम बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । महासङ्घले आइतबार जारी गरेको विज्ञप्तिमा यस्तो बताइएको छ । यो व्यवसायलाई व्यवस्थित गर्न महासङ्घले आफ्ना तर्फबाट आवश्यक पहल गरिरहेको र त्यसमा सरकारको पनि सहयोग अत्यावश्यक रहेको उनीहरूको भनाइ छ ।

महासङ्घले ग्यास र यससँग सम्बन्धित कानुन प्रभावकारी नहुँदा कारोबार व्यवस्थित हुन नसकेको पनि प्रधानमन्त्री देउवासमक्ष जानकारी दिएका छन् । यसबाट उपभोक्ता, ग्यास बिक्रेता र उद्योगीहरु समस्यामा परेको उनीहरूको भनाइ छ । साथै आवश्यक जनचेतनाको अभावमा विभिन्न दुर्घटना भएको र यसबाट धनजनको क्षति भएको उनीहरुले बताए । उनीहरुले सरकारले हालै प्रदेशसभा एवम् प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिएका छन् ।