कुनै पनि लगानी सधैं बढ्छ भन्ने हुँदैन । मौका मिल्यो भने छोटो समयमा धेरै बढ्न पनि सक्छ, कुनै बेला टाट पल्टिन पनि सक्छ । मानिसको उमेरजस्तै सेयर बजार निरन्तर बढ्दैन भन्ने मान्यता राखेर लगानी गरे कहिल्यै घाटा खानु पर्दैन ।
काठमाडाैं । सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लाभांश घोषणा गर्ने क्रम निरन्तर जारी छ । यसैबीच करिब ७० सूचीकृत कम्पनीहरुले लाभांश घोषणा मात्र गरेका छैनन् अपितु चालू आर्थिक वर्षको आआफ्ना वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । गत वर्षको नाफाबाट कम्पनीहरुले राम्रै लाभांश घोषणा गरेका छन् भने चालू वर्षको पहिलो ३ महिनाको वित्तीय विवरणमा पनि राम्रो नाफा गरेको सङ्केत देखाइरहेका छन् । तर, सेयर बजारप्रतिको अन्योल र अनिश्चितता कायमै छ । जब बजार घट्न थाल्छ अनि लगानीकर्ताहरु आत्तिने गर्छन् र त्यसको प्रभाव झनै तीव्र रुपमा कारोबारमा पर्छ ।
नेपाल कम्युनिस्ट पार्टीको सरकार बनेयता निरन्तर जस्तो बजार ओरालो लागेको छ । निरन्तर बजार ओरालो लाग्नुमा अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरिएको छ । अझ चालू आर्थिक वर्षको बजेट आएपछि त झनै निराशाजनक देखिएयो नै । बजेट आउनु अघिल्लो दिन जेठ १४ गते १ हजार ३ सय ३६ दशमलव ३९ अङ्कमा रहेको नेप्से परिसूचकमा यदाकदाबाहेक कुनै सुधार देखिएको छैन । बजेटपछि आएको मौद्रिक नीतिले बजारलाई छोएन ।
यद्यपि वित्त र मौद्रिक नीतिमा सेयर लगानीकर्तालाई सहज हुने गरी केही नीति अघि सारिएको भने थियो । ब्याजदर स्थिर राख्न कोसिस गरेको मौद्रिक नीतिको असर बजारमा देखिएन बरु यही बीचमा तरलता (लगानीयोग्य रकम) अभाव देखाएर ब्याजदर बढाउने प्रयासहरु पनि भए । वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान गर्न भारतीय मुद्रासहित विदेशी मुद्रामा बैङ्कहरुलाई ऋण ल्याउन बाटो खुला गरेपनिसही रुपमा त्यसको कार्यान्वयन नहुँदा तरलता अभावका समस्या चर्को देखिएको छ । बजार सुधारका पक्षमा नेपाल धितोपत्र बोर्डले पनि यहीबीच संस्थागत सुशासन निर्देशिका जारी गर्यो ।
धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई गत कात्तिक २० गतेबाट पूर्ण अनलाइन कारोबारमा प्रवेश गराइएको छ भने ब्रोकरसँग सम्झौता गरेका लगानीकर्तालाई २०७५ पुस १७ देखि अनलाइन कारोबारमा प्रवेश गराइने नेप्सेले जानकारी दिएको छ । तर, पनि बजार झनै तीव्र गतिमा ओरालो लागेको छ भने कारोबार रकम पनि खुम्चँदै गएको छ । कुनै बेला दैनिक दुई अर्ब रुपैयाँसम्म कारोबार हुने नेप्सेमा पछिल्लो समयका अधिक दिनहरुमा त २० करोड रुपैयाँभन्दा तलै खुम्चिँदै गएको छ । यसले पनि लगानीकर्तामा उत्साह नभएको मान्न कठिन हुँदैन ।
निरन्तर घटेको बजारमा एक दशकअघिको उच्च अङ्कलाई परिसूचकले तेस्रो पटक उछिनेर तल झरेको छ । उच्च बिन्दुबाट घट्न सुरु गरेको बजार २०७४ चैत १२ मा १ हजार १ सय ६८ दशमलव ५५ अङ्कमा झरेको थियो । त्यसपछि फेरि सुधार सुरु भएर २०७५ वैशाख १० मा १ हजार ४ सय १० दशमलव ८५ अङ्कमा चढ्यो । खासगरी २०७३ साउन १२ गते १ हजार ८ सय ८१ दशमलव ४५ अङ्कमा पुगेको नेप्से त्यसपछि ओरालो लागिरहेको छ । यो २८ महिनाको बीचमा बजार अधिक बिन्दु नपुगीकनै कहिले तल झर्ने त कहिले उकालो लाग्ने गरेको छ ।
२०७५ असार ३२ गते सोमबार १ हजार २ सय ४ दशमलव ३१ अङ्कमा रहेको नेप्से चालू वर्षको साउन २७ गते आइतबार १ हजार १ सय ६३ दशमलव ९४ अङ्कमा रोकियो । त्यसपछि उकालो लागेको बजारले असोज ९ गते १ हजार २ सय ८० दशमलव शून्य पाँच अङ्क रोज्यो । तर, त्यहाँबाट बजार माथि उक्लन सकेन र फेरि ओर्लने बाटो कुर्यो । मङ्सिर १० गते सोमबार नै बजारले गत साउन २७ गतेको टेवालाई नाघेर ओर्ले पनि त्यसको भोलिपल्ट बढ्ने सङ्केत गर्न खोजेको थियो । तर, बजारको गति ओरालैतिर देखियो र मङ्सिर १३ गते बिहीबार पुरानो टेवा बिन्दुलाई पार गर्दै १ हजार १ सय ४८ दशमलव ३६ अङ्कमा ओर्लिएर तीन वर्षअघिको न्यूनतम बिन्दुमा झरेको छ ।
यसरी बजारको ट्रेन्ड हेर्दा बजार तल्लो बिन्दु खोज्दै अघि बढ्न खोजेको देखिन्छ । यसअघिको टेवा बिन्दुलाई पार गर्दै तल झरेकाले पुँजी बजारमा निकै ठूलो मनोवैज्ञानिक प्रभाव परेको छ । लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि भूमिका निर्वाह गर्ने भएकाले बजार अझै तल जाने सङ्केत गरेको छ । विगतमा उच्चतम वा न्यूनतम बिन्दु बनाएका क्षणलाई नियमित लगानीकर्ताले निकै गहन तरिकाले अध्ययन गर्ने गर्छन् । एक दशकअघि २०६५ भदौ १५ मा नेप्से परिसूचकले १ हजार १ सय ७५ बिन्दुको उच्च रेकर्ड कायम गरेको थियो । त्यसपछि बजार निरन्तर घट्दै नेप्से २०६८ असार २ मा २ सय ९२ दशमलव ३८ बिन्दुसम्म ओर्लिएको थियो । एक दशक अघिकै जस्तो अहिले पुँजीबजार उच्च बिन्दुबाट झरेर बियरिस प्रवृत्तिमा लागेको छ ।
विगतको ट्रेन्ड हेर्दा बजारले कुन लय समात्छ भन्न सकिँदैन । विगतको उच्च बिन्दु र न्यून बिन्दुबीचको सम्बन्धलाई हेर्दा उच्च बिन्दुबाट न्यून बिन्दुमा आउन करिब ३ वर्षको अवधि लागेको थियो । यसरी हेर्दा नेप्सेले न्यूनतम बिन्दु खोजिरहेको आभास मिल्छ । न्यूनतम बिन्दु खोजी गर्ने ट्रेन्ड अब सकिने अवस्थामा हो भने अझै केही समय बजार ओरालो लाग्ने सम्भावना छ । सेयर बजारको प्रवृत्ति हेर्दा न्यूनतम बिन्दु एक हजारको आसपास हुने आकलन गर्न सकिन्छ ।
अहिले पनि ८० प्रतिशत लगानीकर्ता अध्ययन नै नगरी हल्लाका भरमा बजार प्रवेश गर्छन् । नोक्सान बेहोर्न थालेपछि फलानाले गर्दा डुब्यो भन्न थाल्छन् । अर्थमन्त्री भएदेखि नै सेयर बजार विरोधी अभिव्यक्ति दिएको भनेर अर्थमन्त्री डा. युवराज खतिवडामाथि कटाक्ष हुने गरेको छ । यद्यपि उनले पछिल्लो समय सेयर बजारका बारेमा केही बोलेका छैनन् । माने पनि नमाने पनि सेयर बजार भनेको जोखिम लिएर गरिने लगानी हो ।
बजारमा प्रवेश गरिसकेपछि सानो र ठूलो भन्ने हुँदैन र त्यसलाई छुट्ट्याउने कुनै त्यस्तो आधार पनि बनाइएको छैन । जसले जोखिम लिन्छ, उसैले बढी प्रतिफल पनि हात पार्न सक्छ । त्यसैले बजारको वास्तविकता नबुझी छिर्नेहरु बजार घटेका बेला डुब्छन् भने बुझेर लगानी गर्नेहरुले बजार घटिरहँदा पनि कमाइ गरिरहेकै हुन्छन् । यद्यपि यो बुझकीको सङ्ख्या अत्यन्तै सानो हुन्छ ।
दीर्घकालीन लगानीकर्ता र नयाँ लगानीकर्ता बजार प्रवेश नगरेसम्म सेयर बजार बढ्ने सम्भावना कम छ । ‘बजार आयाम’, ‘बजारको मूल्य’ र ‘प्रक्रियागत कारोबार’को सन्तुलन नभएसम्म बजारले सकारात्मक दिशा लिन गाह्रो हुन्छ । बाटो समाइहाले पनि त्यसले दीर्घकालीन बाटो पहिल्याउन सक्दैन र लगानीकर्ता झन् ठूलो जोखिममा पर्छन् । खासगरी नेप्सेमा सूचीकृत कम्पनीमध्ये करिब ८३ प्रतिशत हिस्सा ओगटेको वित्तीय क्षेत्रका कम्पनीहरुले पुँजी व्यापक रुपमा बढाइसकेका छन् ।
कम्पनीहरुको नाफाको वृद्धि दर न्यून तर पुँजी वृद्धि अधिक हुँदा कम्पनीहरुले दिने लाभांशको आकार साँघुरिएको छ । गत वर्ष शतप्रतिशतसम्म लाभांश दिएका कम्पनीहरु यतिबेला २० प्रतिशतभन्दा तल खुम्चिएका छन् । विगतमा बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले बोनस तथा हकप्रद सेयरमार्फत् चुक्ता पुँजी बढाइसकेकाले गत वर्षको नाफाबाट चालू वर्षमा कम्पनीहरुले दिने लाभांशको दर विगतको जस्तो उच्च हुँदैन । किनभने विगतमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले २ अर्ब नै नाफा गर्दा शतप्रतिशत वा केही कम लाभांश क्षमता राख्थे भने ८ अर्ब चुक्ता पुँजी भएको स्थितिमा विगतको २ अर्ब नाफामा १५÷२० प्रतिशत बढे पनि लाभांश २०÷२५ प्रतिशतमै वा त्योभन्दा कम दरमा सीमित हुने अवस्था छ । यसले गर्दा सेयर परिसूचक माथि चढ्न अझै केही समय कुर्नै पर्ने हुन्छ ।
लगानीकर्ताकै भाषामा भन्नुपर्दा अहिलेको सेयर बजार अल्पकालीन लगानीकर्ताको भरमा चलेको छ । ‘बिग हाउस’ (ठूला लगानीकर्ता) तटस्थ जस्तै छन् । सामूहिक लगानी कोषले समेत सेयरमा लगानी नगरी बैङ्कमा निक्षेप राखेको भेटिएपछि नियामक नेपाल धितोपत्र बोर्डले कारवाहीको डन्डा चलाउनुपर्ने अवस्था आयो । विगतको प्रवृत्ति हेर्दा लगानीकर्ता हकप्रद र बोनस सेयरमा बढी आकर्षित हुनेका छन् । नेपाली लगानीकर्ताले नगद लाभांशलाई आफ्नो लगानीको आधार कहिल्यै बनाएनन् । चालू वर्षदेखि अधिकांश कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिए ।
यसअवधिमा लाभांश घोषणा गरेको अधिकांश कम्पनीले नगद लाभांश नै प्रस्ताव गरेका छन् । नियामकहरुले तोकेको पुँजी पूर्ति भइसकेपछि कम्पनीहरुलाई बोनस सेयर दिनुपर्ने बाध्यता अब करिबकरिब सकिएको छ । त्यसले पनि बजार थप प्रभावित हुने अवस्था छ । किनभने विगतमा पनि बजार बढ्दा अधिक हिस्सा रहेको वित्तीय क्षेत्रको पुँजी वृद्धि महङ्खवपूर्ण माध्यम बनेको थियो ।
पछिल्लो पटक मुलुकको आर्थिक सूचकाङ्कहरुमा क्रमशः सुधार देखिन थालेको छ । लोडसेडिङ पूर्णतः अन्त्य भएको छ । राम्रो मौसमका कारण चालू वर्ष कृषि उत्पादनमा पनि उल्लेख्य सुधार हुने सम्भावना देखिएको छ । सेयर बजार विस्तारका लागि सरकारले वास्तविक क्षेत्रका कम्पनीहरु सूचीकृत हुने व्यवस्था गर्न खोजिरहेको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिन नेपालीकै लगानीमा २० अर्बको पूर्वाधार बैङ्क र चिनियाँ लगानीमा १ खर्ब रुपैयाँको पूर्वाधार बैङ्क खोल्ने प्रक्रिया अघि बढेको छ । त्यसैगरी नेप्से र धितोपत्र बोर्डले पनि बजारलाई आधुनिकीकरण गर्न अग्रसर भूमिका निर्वाह गर्न खोजिरहेका छन् ।
पछिल्लो पटक लगानीकर्ताका नाममा खुलेका विभिन्न संस्थाहरु नेप्से र धितोपत्र बोर्डको कार्यालय घेराउ गर्ने, अभद्र व्यवहार देखाउने र उनीहरुले नै बजार बढाउने ठेक्का लिएका हुन् भनेजस्तै गरी प्रस्तुत हुने क्रम बढ्दो छ । जुन नियमित लगानी र लगानीकर्ताको भावना विपरीत हो । धेरैले सेयर बजार भनेको बढ्ने मात्रै साधनका रुपमा लिँदा पनि समस्या भएको छ । कुनै पनि लगानी सधैं बढ्छ भन्ने हुँदैन । मौका मिल्यो भने छोटो समयमा धेरै बढ्न पनि सक्छ, कुनै बेला टाट पल्टिन पनि सक्छ । मानिसको उमेरजस्तै सेयर बजार निरन्तर बढ्दैन । यो सिद्धान्तलाई ख्याल गरी सबै वित्तीय तथा पारिवेशिक परिस्थिति अध्ययन गरी लगानी गरेमा जहिले पनि प्रतिफल पाउने सम्भावना रहन्छ ।