धौलागिरी यातायातले सुरु गर्यो अनलाइन टिकट बुकिङ

काठमाडौं : धौलागिरी यातायात समितिले पनि बसको टिकट अनलाइनबाट काट्न सकिने व्यवस्था गरेको छ । धौलागिरी यातायातको शनिबार बागलुङ बजारमा भएको २०औं साधारणसभाले अनलाइनबाट टिकट बिक्री गर्ने प्रस्ताव पारित गरेको हो ।

अबदेखि पोखरा, पर्वत, बागलुङ तथा मुस्ताङसम्म जाने यात्रुले अनलाइनबाटै बसको टिकट काट्न सक्नेछन् । धौलागिरी यातायातले अनलाइन बस टिकट काट्न बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट बिक्री सुरू गरेको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उद्देश्यले अनलाइन टिकेटिङ सुरू गरेको बताए । ‘यातायात क्षेत्रलाई पनि अब प्रविधिमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाइलबाट टिकट काटेर यात्रा गर्न सकून् भन्ने हाम्रो चाहना हो’, उनले भने, ‘हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित बनाउँदै अब सबै कुरालाई अटोमेसनमा लैजानेछौँ ।’

यात्रुहरूले धौलागिरी यातायातको मोबाइल एप्स, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । ई सेवा एकाउन्ट भएका ग्राहकले सीधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ । ई सेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ई सेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिने व्यवस्था गरेको छ ।

मुलुकभर ई सेवाका ४० हजारभन्दा बढी जोन पोइन्ट छन् । साथै आईएमई पे, ई प्रभु, इन्टरनेट तथा मोबाइल बैङ्किङ, ई नेटलगायत पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।