तीव्र रुपमा किन घट्दै छ सेयर बजार ?

साताको पहिलो दिन आइतबार १७.७३ अङ्कले घटेसँगै नेप्से परिसूचक ११३०.६३ अङ्कको बिन्दुमा आएको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से डेढ घण्टाको अवधिमा १३ अङ्कले घटेको थियो । त्यसपछि पनि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १७ अङ्कले ओरालो लागेको हो ।

पछिल्लो समय सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र रुपमा घटिरहेको छ । गत साता ३२ अङ्कले घटेको नेप्से परिसूचक यस साताको पहिलो दिन नै १७ अङ्कभन्दा बढीले घटेको छ । सेयर बजारलाई आधुनिकीकरण गर्न सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणाली उद्घाटन भएयता निरन्तर ओरालो लागेको छ ।

कात्तिक २० गते अनलाइन कारोबार प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए । तर, उद्घाटनलगत्तै लगानीकर्ताले युजर आइडी र पासवर्ड पाएनन् । तत्कालका लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)लाई मात्र अनलाइन कारोबार प्रणालीमा समावेश गरियो भने लगानीकर्ताका लागि आगामी पुस १७ गते तोकिएको छ । यसले गर्दा यो एक महिना सकेसम्म ठूला केही लगानीकर्ता विभिन्न बहाना बनाएर बजार घटाउन तल्लीन छन् ।

सूचीकृत कम्पनीहरुले लगानीकर्तालाई गत आर्थिक वर्षको कमाइबाट लाभांश दिने क्रम जारी छ । करिब ७० कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । त्यसमध्ये कतिपय कम्पनीको नेप्सेले मूल्य समायोजन गरिरहेको छ । बोनस सेयर वा नगद दिएका कम्पनीको मूल्य समायोजन हुँदा समायोजन हुने कम्पनीको मूल्य स्वतः घट्ने गर्छ । खासगरी अधिकांश कम्पनीले बोनस सेयरभन्दा नगद लाभांश दिँदा लगानीकर्तामा बोनस सेयर आएन भन्ने भावनाका कारण बजार प्रभावित भएको छ । नेपाली लगानीकर्ता बोनस सेयर र हकप्रदमा झुम्मिने र त्यसैका आधारमा मूल्य वृद्धि गराउने गरेका थिए । अहिले बजार तल झर्ने कारणमध्ये एउटा हो यो । अर्को निरन्तर बजार घट्दा लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परिरहेको छ । लगानीकर्ता मूल्य अझै घट्छ भन्ने आधारमा सेयर बेच्न हतारिने र खरिद गर्नेहरु पनि अझै घट्छ केही समय कुरौं भन्ने भावनाले अझै दबाब महसुस गराएको छ ।

तर, वर्तमान परिवेशले भने सेयर बजार घट्ने गरी आर्थिक तथा राजनीतिक क्षेत्रमा कुनै परिवर्तन आएको छैन । नेपाल राष्ट्र बैङ्कको त्रैमासिक प्रतिवेदनअनुसार मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ । अर्कोतिर लगानीकर्ताको मनोबल खस्कने खालको कुनै पनि गतिविधि पछिल्लो समय भएको पाइँदैन । ब्याजदर स्थिर जस्तै छ । सूचीकृत कम्पनीहरुको त्रैमासिक प्रतिवेदन सकारात्मक त छ नै नाफा पनि विगतको भन्दा राम्रो बढिरहेकै छ । यति हुँदा पनि सेयर बजार किन घटिरहेको छ ?

१७ अङ्कले घटेको नेप्से ११३० अङ्कमा

साताको पहिलो दिन आइतबार १७.७३ अङ्कले घटेसँगै नेप्से परिसूचक ११३०.६३ अङ्कको बिन्दुमा आएको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से डेढ घण्टाको अवधिमा १३ अङ्कले घटेको थियो । त्यसपछि पनि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १७ अङ्कले ओरालो लागेको हो ।
आज कारोबार भएका ११ समूहमध्ये व्यापारबाहेक सबैमा गिरावट आएको छ । व्यापार समूह २.९६ अङ्कले बढेको छ भने सबैभन्दा बढी निर्जीवन बिमा १३९.५१ अङ्कले घटेको छ । यस्तै जीवन बिमा १०५.५७, होटल ३३.२६, लघुवित्त २८.८५ तथा बैङ्क १५.५८ अङ्कले घटेको छ ।
आइतबार १५६ कम्पनीको ५३९४ कारोबारबाट १४ लाख ४२ हजार १ सय १४ कित्ता सेयर किनबेच भई ४५ करोड ४६ लाख ९५ हजार ९ सय ९५ रुपैयाँको कारोबार भएको छ ।