विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने कुरा भनाइमै सीमित छ : सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापासँग अन्तर्वार्ता

बीएके कम्पनीबाट बस पठाएको करिब १२–१५ दिन भइसकेको छ । ४५ सिटे एसीसहित तीन ओटा बस आउने क्रममा छन् । कम्पनीले दसदस दिनको फरकमा विद्युतीय बसलाई पठाउने गरेको छ । अबको ४५ दिनभित्र नेपालमा सुन्दर यातायातका १३ ओटा सुविधायुक्त बस काठमाडौंका सडकमा गुड्छन् ।

साझा यातायातले केही महिनाअघि प्रधानमन्त्रीमन्त्रीबाट पाचँओटा विद्युतीय बस उद्घाटन गरायो । अहिले ती बस ग्यारेजमा थन्किएका छन् । बस सञ्चालनका लागि सरकारले कुनै पनि पहल गरेको छैन । त्यस्तै पछिल्लो समय सुन्दर यातायात, मयूर यातायात र काठमाडौं महानगरपालिकाले समेत विद्युतीय बस सञ्चालन गर्ने गृहकार्य थालेका छन् । व्यवसायीका अनुसार सरकारले विद्युतीय सवारीलाई सहुलियत तथा छुट दिने भने पनि अहिलेसम्म कुनै नीति तथा कार्यक्रम आएका छैनन् । यसै विषयमा केन्द्रित रहेर क्यापिटल संवाददाता युवराज बस्नेतले सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापासँग गरेको अन्तर्वार्ताको सार :

विद्युतीय बस ल्याउने सुन्दर यातायातको प्रक्रिया कहाँ पुग्यो ?

पहिलो चरणमा सुन्दर यातायातका तीनओटा बस चीनबाट आउँदै छन् । बीएके कम्पनीबाट बस पठाएको करिब १२–१५ दिन भइसकेको छ । ४५ सिटे एसीसहित तीन ओटा बस आउने क्रममा छन् । कम्पनीले दसदस दिनको फरकमा विद्युतीय बसलाई पठाउने गरेको छ । अबको ४५ दिनभित्र नेपालमा सुन्दर यातायातका १३ ओटा सुविधायुक्त बस काठमाडौंका सडकमा गुड्छन् । उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस गुडाउन प्रयास गरिरहेका छौं ।

साझाले ल्याएको बस प्राविधिक कारणले थन्किएको भन्ने छ । अर्कोतर्फ नेपाल सरकारले सहुलियत नदिएको समेत सुनिन्छ । यसका लागि कस्तो प्रक्रिया अपनाउनुभएको छ ? तपाईंहरुले ल्याउन लागेका बस पनि नथन्किने भन्न सकिन्न । के भन्नुहुन्छ ?

साझा एउटा सरकारको स्वामित्वमा रहेको हो भने सोहीअनुसार प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । सरकारी र निजीमा धेरै अन्तर छ । नीतिगतदेखि भौतिक कामसम्म ढिलाइ हुन्छ, जसकारण साझाले सार्वजनिक गरेका पाँच बस थन्किन बाध्य छन् । तर हामीले ल्याएका बस गुडाएरै छोड्छौं ।
साझालाई जस्तो चार्जिङ स्टेसनलगायत अन्य काममा कुनै पनि हालतमा ढिलाइ हुँदैन । हामीले चार्जिङ स्टेसनदेखि बसका लागि आवश्यक सामान नेपाल भित्र्याइसकेका छौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतसम्बन्धी कामका लागि कुनै समस्या नहुने प्रतिबद्धता जनाइसक्नुभएको छ, जसकारण अब हाम्रा आउँदै गरेका बस थन्किने छैनन् ।

नेपालमा बस भित्र्याउन कति लगानी गर्नुभएको छ ? बसको लगानी पनि ठूलो होला, यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?

नेपालमा ल्याउन लागिएका युरो फोर, एसी र पाँचबर्से वारेन्टी भएका बस आउँदै छन् । कम्पनीले यतिसम्म भनेको छ— बसमा कुनै समस्या आयो, प्राविधिक समस्या आयो भने चिनियाँ प्राविधिक आएरै बसको मर्मत गर्ने व्यवस्था छ । त्यसमा पनि लगातार समस्या आयो भने बस फिर्ता लग्ने प्रतिबद्धता भएको छ । लगानीको कुरा गर्दा एउटा बसलाई एक करोड ८७ रुपैयाँ पर्ने आउँछ । यही हिसाबले हेर्ने हो भने अहिले नेपाल आउन लागेका १३ ओटा बसलाई २४ करोड ३१ लाख पर्छ ।

यातायात विभागले विद्युतीय सवारीलाई रुट पर्मिट कसरी दिन्छ ? कस्तो छ प्रक्रिया ? रुट पर्मिटदेखि दर्ता प्रक्रियामा सहजता छ कि छैन ?

यातायात विभागले रुट पर्मिट तथा दर्ता प्रक्रियामा सहजता दिलाएको छ । सहजीकरण नगराएको कुरा भनेको पेट्रोलियम बस र विद्युतीय बसलाई उपत्यकमा चलाउन के छुट दिने के सहुलियत दिने भन्ने विषयमा अन्योल छ । विभागका अनुसार यो विषयलाई मन्त्रालयमा पठाएको बताएका छन् । विद्युतीय सवारीलाई सहज कहिले हुन्छ भन्ने कुनै अत्तोपत्तो छैन । विभागका महानिर्देशकले विद्युतीय सवारीलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुभएको छ ।

विद्युतीय सवारीका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको तपाईं यातायात व्यवसायीहरु नै भन्दै आउनुभएको छ । के सरकारले बोलीमै मात्र सीमित राखेको हो त ?

हो, अहिलेको सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने भनेर नीति तथा कार्यक्रममा पनि समावेश गरिएको विषय हो । त्यस्तै चालु आर्थिक वर्षको बजेट भाषणमा समेत समेटिएको छ । तर भनेअनुसारको काम भएको छैन । विभिन्न राजमार्गहरुमा समेत चार्जिङ स्टेसन राख्ने काम अन्योलमा परेको छ । व्यवसायीले ल्याएको चार्जिङ मेसिनलाई समेत पर्याप्त विद्युत् दिन नसकेको अवस्था छ । गत शुक्रबारको बैठकमा भने कुलमान सरले विद्युतीय सवारीका लागि आवश्यक पर्ने विद्युतीय समस्या समधान गर्नेसमेत प्रतिबद्धता दिनुभएको छ । चार्जिङ स्टेसनको हकमा उहाँहरुले बत्ती उपलब्ध गराइदिने भन्नुभएको छ । त्यो अब केही समयभित्र कार्यान्वयनमा आउला । विद्युतीय बसका सबै सामान काठमाडौं आइसकेका छन् । ६ थान चार्जिङ स्टेसनसमेत कम्पनीले उपलब्ध गराइसकेको छ ।

तपार्इंको कम्पनीमा कति जनाले रोजगारी पाउने अपेक्षा गर्नुभएको छ ? बस काठमाडौंको कुनकुन रुटमा चलाउने निर्णय गर्नुभएको छ ?

अहिले बस १३ ओटा काठमाडौंमा आउने क्रममा छ । त्यसबाट करिब ३० जनाले रोजगारी पाउने हाम्रो विश्वास छ । अबको एक वर्षभित्र ५० ओटा बस भित्र्याउने योजना बनाएका छौं । त्यसमा प्रशासनदेखि विद्युतीय बससम्म करिब दुईचार सय जनाले रोजगारी पाउनेछन् । त्यस्तै बसहरुका लागि वर्कसर्पको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । अहिले चिनियाँ कम्पनी बीएकेले एसेम्बल्डसहितको कारखानासमेत खोल्न पहल गरिरहेको छ । त्यसमा पनि करिब ५ सय जनाले रोजगारी पाउने अपेक्षा छ ।

पहिलो चरणमा आउने विद्युतीय बस चक्रपथ र कान्तिपथलगायत स्थानमा चलाउने योजना छ । पछि लगातार आउने बसको रुटबारे यातायात विभागसँग समन्वय गरी अगाडि बढ्ने योजना छ ।

पर्याप्त दक्ष र प्राविधिक कामदार नभई विद्युतीय सवारी चलाउन सहज नहोला । कसरी व्यवस्थापन गर्नुहुन्छ यस्तो समस्यालाई ?

यो समस्या हाम्रा लागि चुनौतीपूर्ण छ । तर यो समस्या समाधानको उपाय खोजिरहेका छौं । यसका लागि हाम्रो प्राविधिक मेकानिकल टोली चीन गएर तालिम तथा बसबारे सबै कुरा थाहा पाएर आउनेछन् । केही दिनभित्र हामी हाम्रा प्राविधिकलाई तालिमका लागि चीन पठाउँदै छौं । बस कम्पनीबाट पनि नेपालमा यही हप्ता प्राविधिक टोली आउने जनाएका छन् । अहिले पनि सात जना मेकानिक्सले काम गरिरहेका छन् । यसकारण विद्युतीय बस सञ्चालनमा आवश्य प्राविधिक र दक्षको समस्या पर्नेछैन ।

बिहीबार र शुक्रबार चिनियाँ कम्पनी टोली पनि आएको थियो । टोलीले नेपालमा विद्युतीय बस सञ्चालनमा कस्तो प्रतिक्रिया जनाएको छ ?

चिनियाँ पक्ष नेपालमा विद्युतीय बस सञ्चालन गर्न इच्छुक छन् । उपत्यकामा विद्युतीय बसको सम्भाव्यता अध्ययनसमेत भइसकेको छ । सम्भव्यता अध्ययनका लागि चीनबाटै प्राविधिक टोलीसहित मेसिन पनि लिएर आउनुभएको थियो । काठमाडौंको सडक बस सञ्चालनका लागि उपयुक्त रहेको उहाँहरुको भनाइ छ । सोह्रखुट्टे र स्वयम्भूको उकालोमा समस्या पर्ने देखिन्छ । तर टायर ठूला भएका बस सञ्चालन भयो कुनै समस्या हुँदैन । नेपालमै पहिलो पटक ठूलो लगानीमा एसेम्बल्ड कारखानासमेत खोल्ने योजनामा छन् ।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

भाषणका बेलामा ठूलाठूला गफ हुन्छन् । तर व्यवहारमा कार्यान्वयन भएको छैन । कार्यान्वयनमा सरकारले पहल गरेको छैन । त्यसका लागि सरकारको पहल हुन जरुरी छ । सरकार र सरकारी उच्च पदमा बस्ने मन्त्रीदेखि प्रधानमन्त्रीसम्म विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनलगायतका मुखले मात्र ठिक्क पार्ने भन्दा पनि कार्यान्वयनमा ल्याउन जरुरी छ । नीति आउँछ । तर कार्यान्वयन छैन । सरकारले सहजीकरण गर्छु भने पनि त्यसो भएको छैन ।

सुन्दर यातायातका योजना केके छन् ?
हामीले आम जनमानसलाई फाइदा हुने किसिमबाटै काम गर्नेका लागि विद्युतीय बस भित्र्याउन लागेका छौं । सर्वप्रथम त सरकारले पहिलो पटक सञ्चालनमा आउने बसलाई सहजीकरण गरी सब सञ्चालनमा सहयोग गरे हुन्थ्यो भन्ने अपेक्षा छ । सुन्दर यातायातसँग साना जिप पनि छन् । त्यसको सोरुम पनि स्थापना गर्छौं । त्यस्तै सातै प्रदेशमा कम्पनी स्थापना गरी बस सञ्चालन गर्ने योजनामा छौं । अब आउने ५० ओटा बसबाट जनतालाई सेवा दिन सकियोस् भन्ने हाम्रो चाहना हो । आगामी दिना सरकारले सहुलियत दिएको खण्डमा अझै बस भित्र्याउने योजना छ ।