no-image

यी कम्पनीहरुले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डको अनुमति पाएपछि हकप्रद सेयर निष्कासन गर्ने छन् ।

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत विभिन्न ८ कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेका छन् ।
जलविद्युत्, फाइनान्स, चिनी उद्योग र लघुवित्तीय संस्थाले गरी ४ अर्ब २८ करोड रुपैयाँ बराबरका ४ करोड २८ लाख ९९ हजार ३३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । यी कम्पनीहरुले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डको अनुमति पाएपछि हकप्रद सेयर निष्कासन गर्ने छन् ।

बिमा र लघुवित्त संस्थाले चुक्तापुँजी बढाउन र जलविद्युत् कम्पनीले नयाँ आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

दुई फाइनान्स कम्पनी, दुई जलविद्युत् कम्पनी, दुई लघुवित्त तथा एक उत्पादनमूलक कम्पनीले हकप्रदको अनुमति मागेको बोर्डले जनाएको छ । हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिनेमा श्रीराम सुगर मिल्स लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड, वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सिर्जना फाइनान्स लिमिटेड, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र अपी पावर कम्पनी लिमिटेड रहेको बोर्डले जानकारी दिएको छ ।

श्रीराम सुगर मिल्सले उद्योगको क्षमता विस्तारका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको लामो समय बितिसकेको छ । श्रीराम सुगरले ०७४ बैशाख २८ गते हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । यस्तै अपी पावरले सोही वर्षको असार ३० गते हकप्रदका लागि बोर्डमा आवेदन दिएको हो । अपीले नयाँ जलविद्युत् आयोजना बनाउन हकप्रद निष्कासन गर्न लागेको हो । आवेदन दिएको करिब डेढ वर्ष बितिसक्दा पनि बोर्डले सेयर निष्कासनको अनुमति दिएको छैन ।

आवेदन दिएका कम्पनीहरु श्रीराम सुगर मिल्स, उन्नति माइक्रोफाइनान्स तथा अपी पावरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ । यस्तै नेपाल इन्स्योरेन्सको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, मल्टीप्रपोज फाइनान्सको बिक्री प्रबन्धक सिभिल क्यापिटल, वरुण हाइड्रोपावरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, सिर्जना फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा मिथिला लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल हो ।

अपी पावर कम्पनीले १ः२ को अनुपातमा २ अर्ब १० करोड रुपैयाँबराबरको २ करोड १० लाख कित्ता, श्रीराम सुगर मिलले १ः३ को अनुपातमा ८९ करोड ३ लाख ९४ हजार रुपैयाँबराबरको ८९ लाख ३ हजार ९४९ कित्ता, नेपाल इन्स्योरेन्स कम्पनीले १ः०.६५ को अनुपातमा ४० करोड १४ लाख रुपैयाँबराबरको ४० लाख १४ हजार ४६५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

यस्तै मल्टीप्रपोज फाइनान्सले १ः८.६४ को अनुपातमा ३५ करोड ८५ लाख रुपैयाँबराबरको ३५ लाख ८५ हजार २६४ कित्ता, बरुण हाइड्रोपावर कम्पनीले १ः१ को अनुपातमा २५ करोड ५१ लाख रुपैयाँबराबरको २५ लाख ५१ हजार ५०० कित्ता, सिर्जना फाइनान्सले १०ः६ को अनुपातमा २४ करोड ४ लाख ८० हजार रुपैयाँबराबरको २४ लाख ४ हजार ८० कित्ता, उन्नति माइक्रो फाइनान्सले ५ः१ को अनुपातमा १ करोड १० लाख रुपैयाँको १ लाख १० हजार कित्ता तथा मिथिला लघुवित्त वित्तीय संस्थाले २ः१ को अनुपातमा ३ करोड २९ लाख ८८ हजार रुपैयाँको ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।
हकप्रद निष्कासन सूची हेर्न यहाँ क्लिक गर्नुहोस्