निरन्तर ओरालो लागिरहेका बेला पर्याप्त निक्षेप, असल कर्जा लगानी तथा राम्रो नाफा गरेका बैङ्कको सेयर मूल्य घटेको हो ।
काठमाडौं : पछिल्लो समय ठूला वाणिज्य बैङ्कको सेयर मूल्य घट्दो क्रममा तथा कमजोर बैङ्कको सेयर मूल्य बढ्दो क्रममा देखिइरहेको छ । निरन्तर ओरालो लागिरहेका बेला पर्याप्त निक्षेप, असल कर्जा लगानी तथा राम्रो नाफा गरेका बैङ्कको सेयर मूल्य घटेको हो । गएको असार अन्तिमदेखि आज (शुक्रबार)सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत २७ बैङ्कमध्ये १३ ओटाको सेयर मूल्य बढेको तथा १४ ओटा बैङ्कको सेयर मूल्य घटेको छ । असार मसान्तमा १०२३.२६ अङ्कमा रहेको नेप्से बैङ्किङ इन्डेक्स घटेर ९८८.३२ अङ्क भएको छ । यस अवधिमा बैङ्किङ इन्डेक्स ३४.९४ अङ्कले ओरालो लागेको हो ।
पछिल्लो ५ महिनाको अवधिमा सेयर बजार घटिरहँदा महँगो मूल्यमा कारोबार भइरहेका बैङ्कको सेयर मूल्य घटेको तथा सस्तो मूल्यमा कारोबार भइरहेका बैङ्कको सेयर मूल्य बढेको पाइएको हो । सेञ्चुरी, सिटिजन्स, जनता तथा सिभिल बैङ्कजस्ता सस्ता मूल्यका सेयरको मूल्य बढेको तथा नबिल, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट तथा हिमालयन बैङकजस्ता महँगा मूल्यका सेयर घटेका हुन् ।
यस अवधिमा सिभिल बैङ्कको प्रतिकित्ता सेयर ५ रुपैयाँ, बैङ्क अफ काठमाण्डूको ४१ रुपैयाँ तथा जनता बैङ्कको सेयर मूल्य प्रतिकित्ता १७ रुपैयाँले बढ्दा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको सेयर मूल्य प्रतिकिक्ता १६१, नबिलको ७१, हिमालयनको ७४ तथा एभरेष्टको १३९ रुपैयाँले सेयर मूल्य घटेको छ ।