गत साउनमा सरकारले यातायात कम्पनी मोडलमा जान मङ्सिर मसान्तसम्मको अन्तिम समय दिएको थियो । तर अहिलेसम्म ठूला यातायात कम्पनी यातायात व्यवस्था विभागमा पञ्जीकरण हुन आएका छैनन् ।
काठमाडौं । तोकिएको समय सकिन लाग्दासमेत यातायात व्यवसायी कम्पनीमा जान आनाकानी गरिरहेका छन् । गत साउनमा सरकारले यातायात कम्पनी मोडलमा जान मङ्सिर मसान्तसम्मको अन्तिम समय दिएको थियो । तर अहिलेसम्म ठूला यातायात कम्पनी यातायात व्यवस्था विभागमा पञ्जीकरण हुन आएका छैनन् ।
अब सरकारले दिएको भाका सकिन सात दिनमात्र बाँकी छ । व्यवसायी भने कम्पनीमा जानुको साटो सरकारसँग छलफल गर्ने भन्दै आलटाल गरिरहेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष योगन्द्र कर्मचार्यले कम्पनी मोडलमा रुपान्तरणका लागि सरकारसँग छलफल गरिरहेको बताए । क्यापिटल नेपालसँग कुरागर्दै कर्मचार्यले सबैले कम्पनी मोडलमा किन नगएको भन्ने तर व्यवसायीको मर्का नबुझी बोल्ने गरेको बताए ।
कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महिना लामो समयमा १ हजार ५०० कम्पनीका करिब ६ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिने विभागले जनाएको छ ।
‘सरकारसँग समन्वय गर्ने सोचमा छौं, उक्त समन्वय भए छिटै कम्पनीमा आधारित भएर चल्न हामीलाई कुनै समस्या छैन, कर्माचार्यले भने, ‘सरकारले तोकिएको समयमै सम्भव नहोला ।’ उनका अनुसार कम्पनी मोडलमा जान खासगरी केही अलझन आइरहेको छ । अगामी २९ गतेसम्म कम्पनी मोडलमा नगए स्वतः रुट परमिट खारेजीमा पर्ने विभागको भनाइ छ । अहिलेसम्म साना यातायात समिति मात्र मोडलमा गएका छन् ।
यातायात विभागका महानिर्देशक लावण्यकुमार ढकाले कम्पनी मोडलमा नआए स्वतः समिति खारेज हुने बताए । ‘अब यातायात व्यवसायीले आनाकानी गरेर हुँदैन,’ उनले भने । विभागले मन्त्रालयमा समेत पत्र पठाइसकेको बताउँदै उनले अब पञ्जीकरण नभई कम्पनीमा नआएका यातायात चल्न नपाउने जानकारी दिए । यातायात व्यवसायीको समस्या समाधान गर्दै कम्पनी मोडलमा जान विभाग सदैव तयार रहेको उनको भनाइ छ ।
गत साउनमा सरकार र महासङ्घबीच भएको सहमतिअनुसार काम नहुने पक्का छ । अहिले उपत्यकामा सञ्चालित अधिकांश सार्वजनिक यातायात भने कम्पनी मोडलमै चलिरहेको विभागले बताएको छ । त्यस्तै नयाँ आउने कम्पनी पनि प्रालिमै दर्ता हुनेक्रममा छन् । गृहमन्त्री रामबहादुर थापाले पनि सिन्डिकेट ब्युँताउने चलखेल भइरहेको बताउँदै अब तोकिएको समयमा कम्पनीमा नआए एक्सनमा आउने बताएका थिए । सरकारले यसअघि गत आर्थिक वर्षको साउन मसान्तमा कम्पनीमा आउन समय तोके पनि यातायात व्यवसायी आनाकानीमै छन् । मङ्सिर मसान्तसम्म सरकारले तीन पटक कम्पनीमा आउन समयावधि तोकिसकेको छ ।
गत साउनमा सरकारले अध्ययन गरेर आवश्यक तयारी गर्न नसक्दा यस्तो परिस्थिति आएको यातायात मन्त्री रघुवीर महासेठको भनाई थियो । सरकारले आवश्यक सवारीसाधन, रुट निर्धारण, समितिहरुको सम्पत्ती, बिमा, दुर्घटनाको क्षतिपूर्तिलगायतका विषयमा निर्णय अझै गर्न सकिरहेको छैन ।