४० देखि ४५ दिनभित्र पेन्डिङ्मा रहेका सबै सेवाग्राहीका हातमा स्मार्टलाइसेन्स पुर्याउने जनाएको थियो । तर, अहिले विभागको असहयोग र डाटा इररकाे समस्या देखाई लाइसेन्स छाप्न सकिरहेको छैन ।
यातायात व्यवस्था विभागले अझै पनि डाटा इररको समस्या समाधान गर्न नसक्दा लाइसेन्स छपाइ कार्य प्रभावित बनेको छ । छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेट कम्पनीले डाटा इररको समस्याका कारण स्मार्ट लाइसेन्स छाप्न नसकेकाले सेवाग्राहीले हालसम्म स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । मालिकाले विभागबाट लाइसेन्स छपाइका लागि डाटा उपलब्ध नभएको बताएको छ । तर, विभागले भने डाटा उपलब्ध गराएको बताउँछ ।
मालिका इन्कर्पोरेट कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले विभागबाट आएका डाटामा इररको समस्या नरोकिएको बताएका छन् । विभागले पनि यो समस्या समाधन गर्न नसकेको उनको भनाइ छ । ‘विभागले केही दिनभित्र समस्या समाधन गर्ने बताए पनि दुई हप्ताभन्दा बढी भइसक्यो,’ उनले भने, ‘तर, कुनै प्रतिक्रिया आएको छैन ।’
मालिकाले दैनिक २० हजारका दरले लाइसेन्स छाप्ने दाबी गरेको थियो । त्यस्तै ४० देखि ४५ दिनभित्र पेन्डिङ्मा रहेका सबै सेवाग्राहीका हातमा स्मार्टलाइसेन्स पुर्याउने जनाएको थियो । तर, अहिले विभागको असहयोग र डाटा इररकाे समस्या देखाई लाइसेन्स छाप्न सकिरहेको छैन ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले सबै ठाउँमा केही न केही प्राविधिक समस्या आउने बताउँदै यो समस्या हटाउन विभागका इन्जिनियरहरुले प्रयास गरिरहेको जानकारी दिए । उनले साढे पाँच हजार डाटा उपलब्ध गराइसकेको दाबी गरे । तर, मालिकाले भने डाटा आए पनि इररका कारण छपाइमा समस्या भएको जनाइरहेको छ ।
क्यापिटल नेपालले डाटा इररलाई समाधान गर्न प्रक्रिया के हुँदैछ भनेर प्रश्न गर्दा उनले मालिका र विभागको समन्वय भइरहेको र अहिले पनि दैनिक पाँचदेखि सात हजार लाइसेन्स छापिँदै गरेको बताए । विद्यमान प्राविधिक समस्या कहिले समाधान हुन्छ भनेर समय तोक्न नसकिने उनको तर्क छ ।
सामान्यतया विभागको लापरवाहीकै कारण सेवाग्राही स्मार्टलाइसेन्स पाउनबाट वञ्चित छन् । यही प्रक्रियाले अघि बढ्ने हो भने विभागले तोकेको समयावधि ४५ दिन होइन ६–७ महिनामा पनि लाइसेन्स पाइएला भन्न सकिन्न । अहिले विभाग र मालिकालाई डाटा इररका बारेमा प्रश्न गर्दा प्राविधिक काम भनेर टार्ने गरेका छन् ।
सेवाग्राहीको मर्कालाई न विभागले चासो दिएको छ न त लाइसेन्स छाप्ने जिम्मा पाएको मालिकाले नै निराकरण गर्न सकेको छ । एक एक बहाना गर्दै दुवैतर्फका कर्मचारी पन्छिने कोसिस गरिरहेका छन् ।