हिजो आइतबार ८ जनाले आईडी र पासवर्ड लिन चाहे पनि आज सोमबार जम्मा ५ जनाले लिन चाहेको नेप्सेले जनाएको छ । यसरी दुई दिनमा जम्मा १३ जनाले युजर आईडी र पासवर्डका लागि आवेदन दिएका छन् ।
आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले इच्छुक लगानीकर्तालाई अनलाइन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड दिन सुरु गरेको छ । धितोपत्र दलाल कम्पनीलाई अनलाइन कारोबार गर्न दिएको ठीक एक महिनापछि नेप्सेले लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिएको हो । हाल, नेप्सेले लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिए पनि बैङ्क खाता र डीम्याट खाता इन्टिग्रेट गरेको छैन । अनलाइन कारोबारमा पुस २३ गतेदेखि बैङ्क खाता र डीम्याट खाता इन्टिग्रेट प्रणाली आउने नेप्सेले बताउँदै आएको छ ।
तर, अनलाइन कारोबारको युजर आईडी र पासवर्ड माग्दै ठूलो सङ्ख्यामा नेप्से पुगेका लगानीकर्ताले उत्साहजनक रुपले आईडी र पासवर्ड लिएका छैनन् । आइतबारदेखि लगानीकर्तालाई अनलाइनको सुविधा दिइए पनि सेयर दलाल कम्पनीमा आईडी र पासवर्ड लिन चाहने लगानीकर्ताको सङ्ख्या न्यून छ । ब्रोकर कम्पनी र नेप्सेका अनुसार युजर आईडी र पासवर्डका लागि आवेदन दिने लगानीकर्ताको सङ्ख्या नगण्य छ । हिजो आइतबार ८ जनाले आईडी र पासवर्ड लिन चाहे पनि आज सोमबार जम्मा ५ जनाले लिन चाहेको नेप्सेले जनाएको छ । यसरी दुई दिनमा जम्मा १३ जनाले युजर आईडी र पासवर्डका लागि आवेदन दिएका छन् ।
यसअघि मङ्सिर १० मा लगानीकर्ताका चार ओटै समूह युजर आईडी र पासवर्ड माग्दै नेप्से कार्यालय घेर्न गएका थिए । उनीहरुले सोही दिनदेखि लगानीकर्तालाई युजर आईडी र पासर्वड दिनुपर्ने नभए नेप्से प्रमुखले राजीनामा दिनुपर्ने बताएका थिए । तर, नेप्सेले त्यसको १३ दिनपछि लगानीकर्तालाई अनलाइन कारोबारको युजर आईडी र पासवर्ड दिए पनि लिन इच्छुक लगानीकर्ता छैनन् ।
एसियन सेक्युरिटिजका कर्मचारीले बताएअनुसार हालसम्म उक्त सेक्युरिटिजबाट कुनै पनि लगानीकर्ताले युजर आईडी र पासवर्ड लिएका छैनन् । अनलाइन कारोबारका विषयमा बुझ्न चाहने लगानीकर्ता धेरै भए पनि अहिलेसम्म युजर आईडी र पासवर्ड लिन कोही नआएको उनले बताए ।
क्रिस्टल सेक्युरिटिजबाट सोमबारसम्म अनलाइन कारोबारको युजर आईडी र पासवर्ड लिन आवेदन दिने लगानीकर्ता जम्मा दुई जना छन् । आइतबार दुई जना लगानीकर्ताले अनलाइनको युजर आईडी तथा पासवर्डका लागि आवेदन दिएका थिए । आज सोमबार भने कुनै पनि लगानीकर्ताले आवेदन नदिएको क्रिस्टल सेक्युरिटिजले बतायो । यस्तै अन्य ब्रोकर कम्पनीमा पनि युजर आईडी र पासवर्ड लिने लगानीकर्ताको सङ्ख्या न्यून छ ।