देशभरबाट दैनिक सात हजारले मात्र लाइसेन्स आवेदन दिन पाइने

क्षमताभन्दा बढी आवेदनका कारण ट्रायल परीक्षामा समेत समस्या भएकाले विभागले यो सिस्टम लागू गरेको हो । कर्मचारीको अभाव र क्षमता हेरेर विभागले यो सिस्टम लागू गरेको जनाएको छ ।

यातायात व्यवस्था विभागले लाइसेन्स आवेदनमा कोटा प्रणाली लागू गरेको छ । अब देशभरबाट दैनिक सात हजार सेवाग्राहीले मात्र लाइसेन्स आवेदन दिन पाउने भएका छन् ।

क्षमताभन्दा बढी आवेदनका कारण ट्रायल परीक्षामा समेत समस्या भएकाले विभागले यो सिस्टम लागू गरेको हो । कर्मचारीको अभाव र क्षमता हेरेर विभागले यो सिस्टम लागू गरेको जनाएको छ । यो प्रक्रिया पहिलादेखि नै लागू भए पनि कार्यान्वयनमा भने आउन सकेको थिएन ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले दैनिक सात हजार आवेदक ठिक्क हुने बताए । उनका अनुसार कहिलेकाहीँ दैनिक ५० हजारसम्म अवेदन पर्ने गरेको बताउँदै यस पटक आवेदन गर्न नपाउनेले अर्को पटक पाउने व्यवस्था जानकारी दिए । तर यो व्यवस्थाले सेवाग्राही झन् मर्कामा पर्ने देखिन्छ ।

‘हामीले आइतबारदेखि बुधबारसम्म परेका आवेदन सङ्कलन गरिरहेको छौं भने उपत्यकामा चार ओटा यातायात कार्यालयबाट ट्रायल परीक्षा लिइरहेका छौं,’ उनले भने । यसबाट सेवाग्राहीलाई केही असहज भए पनि व्यवस्थापनमा सहज र मर्यादित हुने उनको भनाइ छ । सबै यातायात कार्यालयको क्षमता र कामका आधारमा यो प्रणाली पूर्णरुपमा लागू गरिएको उनले बताए ।

दसैं तिहारमा बन्द गरिएका कारण आवेदन खोलिएको करिब दुई महिनासम्म सबै सेवाग्राहीले एकै पटक साइट खोलेको र साइटमा क्षमताभन्दा बढी भिजिट भएकाले समस्या देखिएको विभागको ठम्याइ छ ।

यही समस्यालाई मध्यनजर गर्दै विभागले यो प्रणाली अपनाएको हो । कोटा सिस्टमले सेवाग्राहीलाई समस्या पर्दैन ? भनी सोध्दा, केही समस्या पर्दैन, बरु अब आवेदन र ट्रायल चुस्त बन्ने प्रवक्ता उपाध्यायले बताए ।