महाशाखाको तथ्याङ्कमा आर्थिक वर्ष २०७०/७१ मा चार हजारभन्दा बढी चालक कारवाहीमा परेका थिए । आव २०७४/७५ मा आइपुग्दा त्यसको दोब्बर आठ हजार १२० ट्याक्सी चालक कारवाहीमा परेका छन् ।
महानगरीय ट्राफिक महाशाखा र यातायात विभागको समन्वयमा नियम नमान्ने तथा मिटरमा नजाने, यात्रु ठग्ने ट्याक्सी चालकको अनुमति पत्र निलम्बन तथा जफत प्रक्रिया अगाडि बढाएको छ । मंगलबारदेखि उपत्यकामा चल्ने ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले यस्तो प्रक्रिया सुरु गरेको हो । तर विगतका दिनहरुमा पनि यस्ता खालका नियम तथा अभियान सुरु नभएका भने होइनन् । तर यस पटकको नियमले फेल नखाने महानगरीय ट्राफिक प्रमुख बसन्तकुमार पन्तको दाबी छ ।
उनी भन्छन्, ‘नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न सुरु गरिएको छ र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान सुरु गरिएको हो ।’ उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान सुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सी चालक बढी छन् ।
उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । मङ्सिर २० गतेदेखि ट्याक्सी चालकलाई कारवाही सुरु गरेका छौँ”, प्रवक्ता सापकोटाले भने, ‘पाँच पटक कारवाहीमा पर्यो भने अनुमतिपत्र निलम्बन हुन्छ । उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाइएको छ ।’
पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, तीन हजार रूपैयाँ जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लङ्घन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने सापकोटाले बताए । यातायात विभागका प्रवक्ता गोकर्ण उपाध्यायले उपत्यकामा ट्याक्सीबाट दिनानुदिन ठगिएको भन्दै गुनासो तथा उजुरी बढेकाले अब यो प्रक्रिया अपनाइएको बताए । अहिले अधिकांश ट्याक्सीको मिटर बिग्रिएका छन् । यसको जिम्मा नापतौल विभागको हो । तर विभागले कर्मचारीको अभावका कारण अनुगमन हुन नसकेको बताउँदै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारवाही थालिएको हो । उक्त ऐनको दफा ६० मा नियमबमोजिम चालकले पालन गर्नुपर्ने शर्त पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्ता चालकको अनुमतिपत्र छ महिनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ ।
सोही ऐनलाई टेकेर ट्राफिक प्रहरीले कारवाही थालेको हो । अहिले दैनिकजसो करिब १०० अाेटा सम्म ट्याक्सी चालक कारवाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्ता समस्या भए प्रहरीलाई खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ । महाशाखाको तथ्याङ्कमा आर्थिक वर्ष २०७०/७१ मा चार हजारभन्दा बढी चालक कारवाहीमा परेका थिए । आव २०७४/७५ मा आइपुग्दा त्यसको दोब्बर आठ हजार १२० ट्याक्सी चालक कारवाहीमा परेका छन् ।
चालू आवको मङ्सिर २४ सम्ममा तीन हजार ३२० चालक कारवाहीमा परेको अभिलेखले विश्लेषण गर्दा चालकको लापरवाही बढिरहेको देखाउँछ । त्यसैले अभिलेख राखेर अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालिएको महाशाखाका प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार काठमाडौँमा नौ हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् । अहिले ट्याक्सीसम्वन्धी नियम तथा ट्राफिकहरुको एक्सन एक दुईदिन देखिन्छन् त्यसपछि फेरि सुस्ताउँछ । अबको अभियानले के गर्छ त्यो हेर्नै बाँकी छ ।