पुर्न निर्माणको सिजन सुरु भएका बेला सिमेन्ट तथा रक उत्पादक व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेर सामग्री बजारमा पठाउन थालेपछि सरकारले धमाधम अनुमगन सुरु गरेको छ ।
मूल्यवृद्धि हुनुपर्ने कुनै कारण नै नहुँदा व्यापारीले मूल्य बढाएपछि सरकारले त्यस्ता सामान लिएर आउने ट्रक नियन्त्रणमा लिन थालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनकै क्रममा निर्माण सामग्री बोकेका दश ओटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बिना कारण मूल्य वृद्धि गर्ने, बजारमा कृत्रिम अभाव सिर्जना गर्नतर्फ व्यापारी लागेको निश्कर्ष निकाल्दै विभागले अनुगमनलाई तीब्रता दिएको हो । ‘एकैचोटी धेरै नाफा कमाउने उद्देश्य राखेर निर्माण सामग्रीको मूल्य एकासी बढाएको देखिन्छ,’ अनुगमन अघिकृत निरज घिमिरेले भने, ‘कृत्रिम मूल्यवृद्धि रोक्न सरकारले निर्माण सामग्री बोकेर राजधानी भित्रिएका ट्रक नियन्त्रणमा लिन थालेका हौं ।’
अनुगमन अधिकृत घिमिरेका अनुसार केही दिन अघि सिमेन्ट र छडको मूल्यवृद्धि भएपछि विभागले निर्माण सामग्रीको कालोबजारी भएको भन्दै अनुगमन तीव्र बनाएको हो ।
विभागले हेटौँडाबाट सिमेन्ट बोकेर काठमाडौँ आउँदै गरेको ट्रकलाई धादिङको धार्केमा नियन्त्रणमा लिएको अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार सिमेन्टको तौल र मूल्य तोकिएअनुसार नभए थप कारबाहीको प्रक्रिया अघि बढाइने छ ।
चाडवाडका समयमा काठमाडौँ उपत्यकामा मात्र सीमित रही अनुगमन गरिरहेको विभागले पछिल्लो समय बजार व्यवस्थापन गर्ने क्रममा देशको विभिन्न स्थानमा गएर अनुगमन गरिरहेको छ ।